अफगानिस्तानको अर्को प्रान्तीय राजधानी तालिबानको कब्जामा

Photo - AP
Photo - AP

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा ८ वटालाई नियन्त्रणमा लिइसकेको छ।

अन्य सहरहरूलाई पनि नियन्त्रणमा लिने कोसिसका साथ उसले लडाइँ जारी राखेको छ।

मङ्गलवार ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै बाइडनले अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरिरहेको बताएकाे बीबीसीले जनाएकाे छ।

बाइडनले हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताए।

तर उनले भने, "उनीहरूले आफ्ना लागि लड्न चाहिँ आफैँ लड्नुपर्छ।"

संयुक्त राष्ट्रसङ्घका अनुसार गएको एक महिनाभित्र अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच भएको लडाइँमा १,००० भन्दा बढी सर्वसाधारण मारिएका छन्।

राष्ट्रसङ्घको बालबालिबकासम्बन्धी नियोग युनिसेफले यसै साता बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको बताएको थियो।

मङ्गलवार तालिबानले थप दुईवटा प्रान्तीय राजधानीहरू फराह सहर र पुल-ए-खुम्री आफ्नो नियन्त्रणमा लिएको छ।

अधिकारीहरूका अनुसार तालिबानले बाग्लान प्रान्तको राजधानी पुल-ए-खुम्रीस्थित गभर्नर कार्यालयको मुख्य परिसरमा आफ्नो झण्डा फहराएको छ।

उक्त सहर राजधानी काबुलबाट २०० किलोमिटर मात्र टाढा छ।

प्रकाशित मिति: : 2021-08-11 07:22:00

प्रतिकृया दिनुहोस्