विकासोन्मुख दक्षिण एसियाली यस राष्ट्रमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौँ रोहिंज्या समुदाय कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै आएका छन्।
स्वास्थ्य अधिकारीका अनुसार करिब आठ लाख ५० हजार रोहिंज्या बसोबास गर्ने शिविरहरूमा अहिलेसम्म दुई हजार ६०० व्यक्ति सङ्क्रमित भइसकेका छन् भने २९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
कोभिड–१९ का कारण संसारका जेलमा रहेका कैदीबन्दीलाई समेत मुद्दा हेरेर रिहा गरी जेल जीवनलाई खुकुलो र सुरक्षित बनाएका घटनाहरू सञ्चारमाध्यममा आएका भएपनि शरणार्थी शिविरको भिडभाडयुक्त वातावरणमा पनि सङ्क्रमण नियन्त्रणका लागि लिइनुपर्ने सावधानी नअपनाइएको भनी विशेषज्ञहरूले आलोचना गर्दै आइरहेका छन्।
चीनमा निर्मित सिनोफार्म खोप लगाइने, शरणार्थीद्वारा खुशी व्यक्त स्थानीय स्वास्थ्य प्रमुख महबुबुर रहमानले एएफपीलाई बताएअनुसार खोप अभियान अन्तर्गत प्रारम्भिक चरणमा ५५ वर्ष नाघेका लगभग ४८ हजार शरणार्थीहरूले आगामी तीन दिनमा चीनमा निर्मित सिनोफार्म खोप लगाउने छन्।
छ लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने सबैभन्दा ठूलो शरणार्थी बस्ती कुटुपालोङमा खोप लिएर स्वास्थ्यकर्मीहरू शिविरमा प्रवेश गर्दा थुप्रै वृद्धलगायत रोहिंज्या शरणार्थीहरू हर्षित देखिन्थे। शिबिरको भीडकाबीच पनि शरणार्थी अनुशासित भई खोपका लागि लामवद्ध भएका थिए।
'हामी कोरोनादेखि डराउँछौं। हामीले खोप लगाइदियौँ भने राम्रो हुन्छ भन्ने सुनेका थियौं। त्यही भएर आज म यहाँ आएकी हुँ,' उमेरले ६० वसन्त पार गरेकी हजुरआमा रहिमा खातुनले भनिन्। 'अहिलेको सङ्कटको पार गर्न हामीलाई खोप चाहिन्छ। यसले हामी सबैलाई चिन्ता लागेको रोगबाट बचाउनेछ,' अर्का एक वृद्ध मोहम्मद जाफरले भने।
शरणार्थीहरू बसोबास गर्ने झुपडीहरूमा स्वयंसेवकहरू घर–घरमा गएर शिविरहरूमा बृहत् जागरूकता अभियान सञ्चालन गरेको बङ्गलादेशी अधिकारीहरूले बताएका छन्। बङ्गलादेशका शरणार्थी उप–आयुक्त शमसुद दुजाले एएफपीलाई बताएअनुसार विवादबीच बङ्गालको खाडीको एउटा टापुमा सारिएका १८ हजार रोहिंज्याको लागि पनि यस हप्ता खोप अभियान सुरु हुनेछ।
हालैका महिनाहरूमा बङ्गलादेशमा कोभिड सङ्क्रमण दरमा निकै वृद्धि भएको छ। १६९ लाख मानिसहरूको देशको अधिकांश भाग रोहिंग्या शिविरलगायत बन्द अवस्थामा छ।
बङ्गलादेशमा झन्डै २३ हजार कोभिड सङ्क्रमितकोमृत्यु भएको छ भने एक करोड ४० लाख व्यक्ति सङ्क्रमित बनेका छन्। तीमध्ये अधिकांश हालैका महिनाहरूमा सङ्क्रमित भएका छन्। लगभग ९८ प्रतिशत नयाँ सङ्क्रमणहरू छिमेकी भारतमा पहिलो पटक पत्ता लागेको कोभिडको ‘डेल्टा भेरियन्ट’बाट आएका बताइएको छ।
शिविरमा महामारी नियन्त्रणका लागि खोप उत्तम विकल्प बङ्गलादेशका अधिकांश रोहिंज्या सन् २०१७ मा छिमेकी म्यानमारमा सुरक्षाकर्मीको आक्रमणबाट भागेका थिए। त्यसको चार वर्ष बितिसक्दा पनि उनीहरू घर फर्किने सम्भावना कम रहेको देखिएको छ।
बङ्गलादेशको चिकित्सा परोपकारी संस्था एमएसएफका प्रमुख रोमेन ब्रीले भने, 'शिविरहरूमा रोहिंज्या जनसंख्यामा यो भाइरस नियन्त्रणको एक मात्र प्रभावकारी तरिका सबै उमेर समूहमा खोप लगाउनु नै हुनेछ।'
रेडक्रस तथा रेडक्रेसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघका हृषिकेश हरिचण्दनले रोहिंज्या ‘विश्वव्यापी खोप विभाजनको छायाँमा बाँचिरहेको’ बताउनुभयो। 'परिवारहरू मर्यादित जीवन बिताउन खोप लगाउनु अत्यावश्यक छ किनभने यी शिविरहरूमा बस्ने मानिसहरूलाई घरमै बस्न एकदमै गाह्रो हुन्छ र अझै पनि पानी तथा सरसफाइ केन्द्रहरूको सीमित पहुँच छ, जसले गर्दा कोभिड–१९ को खतरा उच्च छ।'
अधिकारीहरू वर्षाका कारण धेरै रोहिंग्यालाई घरमा बस्न बाध्य पार्न सक्ने र खोप लगाउन नआउने सम्भावना रहेकोमा चिन्ता गरेका छन्। गत महिना मनसुनको वर्षाले शिविरका दुई हजार ५०० आश्रयहरू भत्केका थिए भने १२ हजारभन्दा बढी शरणार्थीहरूलाई सुरक्षित स्थलमा सारिएको थियो। 'भाग्यवश आज बिहान पानी परेन यसले धेरै वृद्धवृद्धाले खोप अभियानमा सहभागिता जनाउन सक्छन्,' स्थानीय स्वास्थ्य प्रमुख रहमानले बताएका छन्।