एमालेभित्र फस्टाएको ‘मुसा प्रवृत्ति’

सत्ताबाट झरेर प्रतिपक्षमा पुगेको नेकपा (एमाले) भित्र दुईथरि पात्रहरू खूब चर्चामा छन्। उनीहरू अवसरका लागि हत्तपत्त खुट्टा उचाल्न पछि पर्दैनन्।

प्रायःलाई लाग्ला– कोही किन चरम् अवसरवादी हुन्छ? के एमाले पार्टीमा मात्रै यस्ता पात्रहरूको रजाइँ चलेको छ ? अनि धेरै संख्या यहीँ छ? त्यसो पनि होइन। अवसरका लागि आँखै नहेरी दौडिनेहरू जताततै भेटिन्छन्।

उनीहरू क्षणिक चर्चा बटुल्न आफूइतर खेमालाई सत्तोसराप गर्छन्। फाइदा देख्नबित्तिकै आफू बसेको डुंगामा प्वाल पार्छन्, डुबाउन। अनि अर्को डुंगामा हामफाल्छन्। समूह परिवर्तन गरिरहन्छन्।

एमालेभित्र आजकाल बिम्बका रुपमा प्रयोग गरिने दुई नाम मुख्–मुखमा छन्– एक प्रेम आले र विष्णु रिजाल। यी दुई एमाले केन्द्रीय सदस्यको स्वार्थीपना चित्रण गर्ने गरिएको छ। 

०००

पार्टी निर्माणमा दुई पैसाको भूमिका नभएको पछिल्लो पुस्ताले हजारौँ–हजार मेहनती त्यागी नेता–कार्यकर्तामाथि खिल्ली उडाइरहेको पार्टी हो– एमाले। 

पार्टी कार्यालयका जागिरे, सस्तो प्रचारमा दिनहुँ सञ्चारमाध्यम धाउने अर्थात् स्वघोषित नेताहरूले राजनीतिक मैदानमा धुलोमैलोसँग खेलिरहेका भुइँमान्छेहरुको मर्ममाथि लात्ती प्रहार गर्नेहरूको पार्टी हो– एमाले।

सशस्त्र द्वन्द्वको समयमा माओवादीविरूद्ध अनेकौँ चुतौतीसँग लडेका योद्धाहरूमाथि चैतेहरूले शासन गरिरहेको पार्टी हो– एमाले। 

गाउँमै बसी भोक र प्यास बिर्सेर पार्टीको सङ्गठन बनाउने ‘ग्रासरुट’ का कमरेडहरू राजधानी छिर्दा पार्टी मुख्यालयमा पानी पिउन समेत नपाउनेहरूको पार्टी हो– एमाले। 

वर्षौंसम्म हुर्काएको पार्टी सङ्गठनमा चुनावताका नेताको गुलामी गरेकै भरमा चुनावी टिकट पाउनेहरूको पार्टी हो– एमाले।

विचारको अस्तित्व जोगाउन लड्दै–भिड्दै उम्मेदवार जिताएपछि आसेपासे र आफन्तहरूले नै घर्ने परिपाटी विस्तार हुँदै गरेको र संस्कृतिका रुपमा स्थापित हुँदैगरेको पार्टी हो– एमाले।

योग्यतामा पूर्णता हुँदाहुँदै चाकडीमा अब्बल नभएकै कारण राजनीतिक नियुक्तीमा गफ छाँट्नेहरू हावी भई ‘मुसा’ प्रवृत्तिमा चैतेहरू लुरुक्क छिर्ने पार्टी हो– एमाले। 

सत्तामा हुँदा गुप्त रुपमा राष्ट्रघात गर्न नचुक्ने तर   सडकमा झारिएपछि संसारै थामौँलाझैँ टोल–टोलका भट्टीपसलसम्म राष्ट्रवादी गफ हाँकेर राजनीतिक दुर्गध फैलाउने पार्टी हो– एमाले।

०००

दृश्य– एक

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री बनाएपछि प्रेम आलेहरू संस्थापन समूहका नेताहरूलाई देवत्वकरण गर्थे। पार्टीका केन्द्रीय उपाध्यक्ष भीम रावलमाथि उनले मर्यादा नाघेरै कति बोले–बोले। आले एमालेको ओली समूह खुशी पार्न यसो गथेँ। सूदुरपश्चिमका नेता सबैभन्दा ठूला नेता रावलभन्दा आफूलाई माथि राखेर कुरा गर्थे– डोटीबाट चुनाव जितेका रावल।

कार्की ब्याङ्क्वेट(०७७ पुस १९) को मञ्चअघि ओलीलाई राखी माधव नेपाल र भीम रावलमाथि गाली वर्षाउँदा उनी तालीपिट्दै मुसुक्क हाँस्थे। लाग्थ्योँ– उनी खूब मनोरञ्जन लिइरहेका छन्। 

मन्त्री बनेको अवधिभरि आले र उनको स्वार्थी समूह ओलीकै वरिपरि हुर्कियो। यसो त उनी ओली समूहमा कहिल्यै थिएनन्। मन्त्री बन्नुअघिसम्म आफू माधव नेपालनिकट भएको ठोकूवा गर्थे। एमाले–माओवादी तालमेलका क्रममा डोटीबाट चुनावी टिकट नेपालकै पहल प्राप्त गरेको आलेको दाबी छ। ओली नेतृत्वको सरकारमा सुदूर–भेगको प्रतिनिधित्व गर्दै मन्त्रीका लागि दौडिनसम्म दौडिए। 

कुनै पार नलागेपछि भीम रावलाइ सराप्दै हिँडेका आले पैसा र बलको भरमा राजनीति गर्नेहरूमध्ये चतुर अवसरवादी मानिन्छन्। कम्युनिष्ट पृष्ठभूमिका तमाम जिल्ला नेताहरू तह लगाउदै काठ व्यापारबाट फस्टाएका उनी एमालेको बजारमा सबैभन्दा स्थापित नेता हुन्। 

आले २५ वर्षअघिसम्म कांग्रेस कार्यकर्ता थिए। स्थानीय नेताहरूसँग मनमुटाब भएका कारण एमाले प्रवेश गरेका उनी डोटी जिल्ला विकास समितिको सदस्य, एमाले जिल्ला सचिव हुँदै केन्द्रीय सदस्यसम्म बने। आलेलाई बोकेर हिँड्न एमालेभित्र जो–पनि तयार हुन्छन् किनकि उनीसँग जताततै छर्नसक्ने पैसा छ।

अवसर छोप्न मैदानमा कुदिँरहेका आले पहिलोपल्ट विघटित प्रतिनिधिसभा ब्यूतिँएपछिको मन्त्रिमण्डलमा अटाए। शीर्ष नेताहरूलाई खुशी पार्नसक्ने खुबी भएका उनी एमालेसामु प्रिय छन्। 

एमाले स्थापनाकालदेखि नै मरिमेटी सङ्गठन बनाउन लागिपरेका वा खारिएका नेताहरूलाई सिंहदरबार गेटमै रोकेर  भित्र छिरे। अन्ततः आलेले ओलीलाई समेत धोका दिए। ओली सरकारका मन्त्री आलेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिए। 

नेपाल खेमा छाडेर ओलीतिर औपचारिक प्रवेश गरेपछि उनले वनमन्त्री पाएका थिए। आले मन्त्री पद सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवासामु लम्पसार परेका छन्। 

देउवाले संसद्बाट विश्वासको मत लिनुअघि मन्त्री माग्दै देउवा निवास, बुढानिलकण्ठ पुगी निवेदन चढाउनेमध्ये उनी पनि हुन्। पुराना एमाले नेताहरू भन्थे– आलेहरू छउञ्जेल हाम्रो के लाग्छ र? पार्टीभित्र उनीहरूकै रामरमिता चलिरहेको छ। हेरौँ, कति दिन चल्दोरहेछ।

भगिरथ प्रयत्नका बाबजुद पनि बेग्लै पार्टी गठनबिनै माधव नेपाल समूह देउवा सरकारमा सहभागी हुन संभव भएन। त्यसैले सांसद् पद धरापमा पर्ने भयका कारण पार्टी फुटाउने आँट नगरेको नेपाल समूह सरकार सहभागी नहुने संभावना बढेको छ। यो संकेत पाएपछि आलेहरू पुनः एमालेको संस्थापन पक्ष– ओली खेमामा फर्किने कोशिशमा लागेको एमाले नेताहरूको दाबी छ। 

पद पाउनकै लागि  कांग्रेसबाट एमाले, एमालेको नेपाल खेमा छाडेर ओली हुँदै पुन ओली समूह त्यागेर कांग्रेस सभापति देउवा–नेपाल खेमासम्म पुगे आले। उनलाई आजकाल सञ्चो छैन। 

हिजोआज सिंहदरबारमा मकै बाँड्दै पुनः ओलीकै गुनगान गाउन थालेका छन्। हेरौँ, अब एमालेका आलेहरू कता भेट्छन् अवसर, कता हान्निछन्। 
दृश्य – दुई

प्रतिनिधिसभा विघटनताका कालो चस्मा लगाउँदै तत्कालीन प्रधानमन्त्री ओलीलाई सराप्दै हिँड्ने विष्णु रिजाल आजभोलि उनै ओलीको खूब गुणगान गाउँछन्। कारण– सञ्चारमाध्यममा विकाउ वक्तव्य दिन सिपालु उनी नेकपा अध्यक्षबाट ओलीलाई हटाउने बेलामा प्रचण्डको निकै गुणगान गाउँथे। शायद् त्यसबेला माधव नेपालको भन्दा बढी प्रचण्डको भक्तिगान गाउँथे उनी। 

आफूलाई पछिल्लो पुस्ताको निकै विद्वान देखाउन प्रयास गर्ने उनी मौसमअनुसार छेपारोले जस्तै रङ्ग फेर्न सक्छन्। ओली खेमामा प्रवेश गर्नुअघि उनी नेपाल समूह आफूएक्लैले थेगेजस्तो गर्थे। नयाँबानेश्वरको होटेल अर्यालमा क्यामेरा देख्यो कि उनी ओलीविरूद्ध समाचार–निर्माताको भूमिका खेलिहाल्थे। 

नेपाल समूहबाट सबैभन्दा धेरै आर्थिक लाभ र उच्च पद लिने मध्ये उनी एक मानिन्छन्। दैलेखका रिजाल भूगोलबाट उदाएका पात्र होइनन्। उनी एमाले पार्टी कार्यालयमा जागिर गर्दै आफूलाई विद्वान बताउने स्वघोषित युवानेता हुन्।

लामो समयसम्म एमालेको मुखपत्र नवयुगको भाषा सम्पादक भई काम गरेका रिजाल एमाले युवानेता सूर्य थापालाई अग्रज मान्छन्। माधव नेपालनिकट रहे पनि रिजाल पारिवारिक नाताले मामाससुरा उपमहासचिव विष्णु पौडेललाई साथ दिँदै आएका छन्।

गुटभित्रका थुप्रै सहयोगीहरूलाई पाखा लगाई विष्णु रिजाललाई छेउमा राख्नु नै माधव नेपालको सबैभन्दा ठूलो कमजोरी ठान्छन्, नेपाल पक्षका नेताहरू। नेपालसँगै हुँदा पनि उनलाई कतिपय गोप्य कुराहरू विष्णु पौडेलमार्फत् केपी शर्मा ओलीसम्म पुर्‍याएको आरोप लाग्ने गर्थ्यो।

उनी माधव नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत त बने नै, पछिल्लो समय माधव नेपाल एमालेको विदेश विभाग प्रमुख छँदा नेकपामा उनलाई उक्त विभागको उप–प्रमुख समेत बनाए, जसले एमालेको माधव नेपाल खेमाभित्र असन्तुष्टि बढेको थियो। ओली खेमाले नेपालको खिल्ली उडाएको थियो।

कुनै समय नेपालको दाहिने दात बताउने उनले प्रेस चौतारीमा ओली समूहका पत्रकारलाई आफूले भ्याए जति दुःख दिएका छन्। तर, उनैलाई नेता मान्न बाध्य छन्, चौतारीकर्मीहरू। नेपालले आलोचना व्यहोरेर पनि विदेश विभाग उपप्रमुख भएका उनी उनलाई छाडेर फुत्त ओली समूहमा प्रवेश गर्नेमध्ये एक हुन्।

ओली समूहभित्र विश्वास जित्न पुराना वचन भूलाउने प्रयासमा लागेका रिजाल केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दाताका प्रतिगामीको नारा घन्काउदै गृहजिल्ला दैलेखसम्म पुगे। उनी ओली समूहसँग स्वार्थ नमिल्दा संसारकै झूट बोल्ने नेताहरूको सूचीमा ओलीलाई पहिलो नम्बरमा राख्थे।

तत्कालीन प्रेस संगठनको एक सभामा प्रचण्ड र माधव नेपाललाई छेउमै राखी ओलीलाई ‘बयलगाडा चालक’ समेत भन्न भ्याए। साउन १५ को खीरखाने भेलामा उनै रिजाल ओलीनिकट नेताहरूको अग्रपंक्तिमा सँगै उभिएका थिए। 

सदनदेखि सडकसम्म ओलीलाई सराप्ने तेस्रो तहका रिजालहरू एमालेको काखैमा रमाइरहेका छन् भने बाँकी सबै ट्वाँ...। वास्तवमा ओलीविरूद्ध सङ्कटमा बेलाबोली हिँडेकाहरू आजकाल ओलीकै वरिपरि घुम्दा अन्य नेता–कार्यकर्ताहरू भने वाक्क–दिक्क छन्। 

खाँटी एमालेका नेताहरुलाई होच्याएर व्यवहार गर्न पछि नपर्ने रिजाल एमाले संसद्को सबैभन्दा ठूलो दलको हैसियत बनाएर मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा  दैलेखमा नेपाल मजदुर किसान पार्टीका विद्यार्थी संगठनका कार्यकर्ता थिए। ०५४ सालको स्थानीय चुनावसम्म उनले ‘मादल’को प्रचार गरेका थिए– दैलेखमा। उनी ०५६ सालमा एमाले प्रवेश गरेका थिए। 

०००

प्रेम आले र विष्णु रिजालहरू पछिल्लो समय एमालेभित्र देखिएका खास प्रवृत्ति हुन्। उनीहरू स्वार्थ मिल्नासाथ जहाँ र जुनसुकै कित्ता फेर्न पनि पछि पर्दैनन् किनकि उनीहरू नेतृत्वनिकट भई कामकाजी र संकटमा काँध थापेका नेताहरूविरुद्ध बोल्नु नै संघर्ष मानिन्छन्। आले र रिजालहरू त एमालेभित्रको कथामा उल्लेखित विम्ब मात्रै हुन्। 

मन्त्री पाएपछि केपी शर्मा ओलीको गुणगानमा रमाउने प्रेम आले ओली राजनीतिक संकटमा पर्नासाथ पुनः माधव नेपालकै खेमामा प्रवेश गरिसकेका छन्। उनीजस्तैगरी नेपालनिकट रही लामो समय काम गरेका विष्णु रिजाल एकाएक संस्थापन पक्षमा लागे। 

केपी शर्मा ओलीलाई प्रतिगमनको मतियार भन्दै कुर्लेको एक महिना नबित्दै आफ्नो भाग्य र भविष्य नापतौल गरी ओली समूहमा फुत्त छिरेको पत्तै भएन।

राजनीतिक सफलता यसैलाई मान्ने हो भने त ठीकै हो। नत्र पहिलो पुस्ताले राजनीतिक छवि बिगारेको आरोपित गर्नेहरू तर अवसरका लागि ‘मुसा प्रवृत्ति'मा रमाउने आले र रिजालहरूका लागि राम...राम... मात्रै भन्न सकिन्छ।

प्रकाशित मिति: : 2021-08-12 13:17:00

प्रतिकृया दिनुहोस्