सेवासुविधा नलिने घाेषणा गरेका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कर छलेकाे खुलासा

Breaknlinks
Breaknlinks

सरकारको सेवासुविधा नलिने भन्दै चर्चामा आएका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले लामो समयदेखि घरजग्गा तथा सम्पत्ति कर नतिरेको तथ्य बाहिरिएको छ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको कर नतिर्नेको सूचीमा मन्त्री श्रेष्ठको कम्पनीसमेत परेको हो।

महानगरपालिकाले जारी गरेको सूचीमा अर्बाैँको कारोबार गर्ने कम्पनीहरूदेखि पटक-पटक पत्र पठाउँदा पनि अटेरी गर्नेमा मन्त्री श्रेष्ठको जनमैत्री अस्पताल पनि छ।

राज्यको सेवासुविधा नलिने भन्दै चर्चामा आएका मन्त्रीको अस्पताल नै लामाे समयदेखि कर नतिर्ने सूचीमा परेपछि चर्को आलोचना भइरहेको छ। मन्त्री श्रेष्ठसँगै राज्यलाई कर नतिर्नेकाे सूचीमा विवादास्पद व्यवसायी अजेयराज सुमार्गी पनि छन्।

राजनीतिक पार्टीका नेता र उच्च सरकारी अधिकारीसँग हिमचिम भएका व्यापारीको महानगरपालिकाले नामै सार्वजनिक गरी सूचना जारी भएको मितिले ३० दिनभित्र घरजग्गा तथा सम्पत्ति कर र जरिवाना नबुझाए सम्पत्ति समेत रोक्का गर्ने चेतावनी समेत दिएकाे हाे। पहुँचका भरमा पेल्न खोजेपछि महानगरले यस्तो निर्णय लिएको स्राेतले जनाएकाे छ। 

नतिर्नेको सूचीमा चिसो पेय पदार्थ उत्पादन गर्ने वरुण वेभरेजदेखि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र अजेयराज सुमार्गीलगायतका ५२ वटा विभिन्न कम्पनीको नाम सार्वजनिक गरिएको छ।

महानगरलाई कर नबुझाउने सूचीमा व्यवसायी राप्रपाका नेता उद्धव पौडेलको गोपीकृष्ण मुभिज प्रालि समेत छ। हिमालय होटल, रविन्द्रबहादुर मल्ल, दिव्यशमशेर जबरा, नक्सालस्थित इम्पेरियल अपार्टमेन्ट, दरबारमार्गको कान्तिपुर होटल, लाजिम्पाटका शिशु अर्याल, भाटभटेनीको शुभकामना हाउजिङ समेतले कर नतिरेको महानगरले जनाएको छ। 

चाबहिलको ओम सान इन्टरनेशनल कलेज, काठमाडौं जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, टेकुको अम्बे कम्प्लेक्सले पनि कर तिरेको छैन।

त्यस्तै, राजेन्द्रकुमार काबरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, सिद्धार्थ वनस्थली स्कुल, ब्याट्री कारखाना, होटल मर्स्याङ्दी, ह्वाइट फिल स्कुल, प्रदीपरत्न, उदयरत्न र विजयरत्न ताम्राकार, आदर्शनगर विजनेश प्रालिले पनि कर तिरेका छैनन्।

कर नतिर्नकाे लागि यी व्यवसायी तथा कम्पनीहरूले राजनीतिक दलका नेताहरुलाई रिझाउँदै आएको पाइएको छ।

प्रकाशित मिति: : 2021-08-09 16:05:00

प्रतिकृया दिनुहोस्