सचित राई/काठमाडौं, नीतु घले/ललितपुर, इन्द्र चौधरी/काठमाडौं, सीताराम गुरागाईं/काठमाडौं, शिवराज भट्ट/धनगढी, मनिका झा/जनकपुरधाम, शंकरप्रसाद खनाल/नेपालगन्ज, किशोर बुढाथोकी/विराटनगर, हरिबहादुर लम्जेल/धनकुटा, प्रदीपचन्द्र राई/भोजपुर, शिव उप्रेती/गोरखा, सुन्दरकुमार थकाली/जोमसोम, कृष्ण सारू मगर/हेटौंडा, हिक्मतबहादुर नेपाली/दैलेख, भरत खड्का/उदयपुर, गोपाल शर्मा/दाङ, सुब्रत न्यौपाने/झापा
हाम्रो राष्ट्रिय गानको अन्तिम अनुच्छेद छ–
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल
हामीसँग जातिगत विविधता छ । भाषागत विविधता छ । सांस्कृतिक विविधता छ । जातिपिच्छेका संस्कार–संस्कृति छन् । थुमथुमका संस्कार–संस्कृति छन् । र त सांस्कृतिक हिसाबले सम्पन्न छौं । के हिमाल, के पहाड, के तराई, जता गयो उतै फरक–फरक सांस्कृतिक परम्परा छन् । तर, थोरै जनसंख्याले बोल्ने भाषा, मनाउने संस्कृति संकटग्रस्त रहेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम बताउँछन् ।
आदिवासी जनजातिका भाषा, संस्कृतिप्रति राज्यको दृष्टिकोण पहिलेको तुलनामा ‘खासै परिवर्तन’ नभएको अध्यक्ष बरामको गुनासो छ । बरु भाषा, संस्कृति जगेर्नामा जाति, समुदाय आफैं सचेत भएको बरामको बुझाइ छ । संरक्षणको दायित्व राज्यकै रहेको उनी बताउँछन् ।
महासंघमा ५६ जाति संगठित छन् । आदिवासी जनजातिका भाषा ८४–८५ वटा रहेको उनको आकलन छ । सांस्कृतिक हिसाबले भने विविधता रहेको उनी सुनाउँछन् ।
सरकारले ५९ आदिवासी जनजातिलाई सूचीकरण गरेको छ । सर्वोच्च अदालतको निर्णयअनुसार राना थारू र सोनाहा थपिने प्रक्रियामा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारिणी अध्यक्ष गोकुलप्रसाद घर्ती बताउँछन् । तीव्र सहरीकरणका कारण आदिवासी जनजातिको स्थिति संकटमा पर्ने शंका लाग्न थालेको घर्तीको ठम्याइ छ । उनका अनुसार संस्कृति संरक्षणका निम्ति सम्बन्धित जातिको सघन बसोबास रहेको ठाउँमा होमस्टेको प्रवद्र्धन गर्ने योजना छ । ‘स्थानीयलाई आर्थिक गतिविधिसँग जोड्न पनि सकियो’, उनी भन्छन्, ‘यससँगै सम्बन्धित आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृतिको संरक्षण पनि हुने भयो ।’ तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार नेपालमा जातजातिको संख्या १ सय २५ मा थपिएर १ सय २७ पुगेको छ ।
महासंघले यसपटक विश्व आदिवासी दिवस चार दिन मनाइरहेको छ । ‘विगतमा भव्य रूपमा एक सातासम्म हामी यो दिवस मनाउँथ्यौं’, उनी भन्छन्, ‘कोरोनाले गत वर्षदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै दिवस मनाइरहेका छौं ।’ संयुक्त राष्ट्रसंघको कार्यक्रमअनुसार नेपालमा पनि सन् १९९४ देखि यो दिवस (अगस्ट ९) मनाइँदै आएको छ ।