भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ।
शुक्रबार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो। शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन्। जबकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो।
सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।
एउटै समयावधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या घटेको छ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कूल सङ्ख्या चार लाख १२ हजार १५३ रहेको छ। जबकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो।
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ। तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका छन्।
सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ। तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ। भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। योसँगै अहिलेसम्म खोप लगाएकाको सङ्ख्या ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ।