‘दलित पुजारी भनेर टीका नथाप्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ’

हिमाल खबर

काठमाडौं

गणेश मन्दिरको पुजारी घोषणा भएपछि प्रफुल्ल भएका लक्ष्मण रम्तेल कर्मकाण्ड सिक्ने तयारी त गरिरहेका छन् नै, तर दलित पुजारी भनेर गैरदलित नआउने पो हुन् कि भन्ने चिन्तामा पनि छन्।

पण्डित दीनबन्धु पोखरेलले २ साउनमा ललितपुरको गोदावरी नगरपालिका-१ गोदामचौरस्थित गणेश मन्दिरको पुजारी घोषणा गर्दा ३९ वर्षीय लक्ष्मण रम्तेल औधी खुशी भएका थिए। त्यसयता मन्दिर निर्माणकै काममा व्यस्त रहँदै आएका उनी केही चिन्तित पनि छन्।

पुजारी रम्तेललाई चिन्तित बनाउने कुरा के होला? व्यक्तिगत भन्दा समाजकै कुराले चिन्तित बनाएको बताउँदै रम्तेल भन्छन्, “कतै दलित पुजारीको हातको टीका लगाउँदिनँ भन्ने पो हुन् कि!”

यस्तो सोचाइ आउनुका पछाडि केही तीता भोगाइ पनि छन्, जसले उनलाई घरीघरी चिमोटिरहन्छन्। उनी २० वर्षअघिको घटना सम्झिन्छन्। एक साँझ साथीभाइ भेट्न भक्तपुर पुगेका थिए। उनका साथी दाह्री काटिरहेका थिए। लक्ष्मणले पनि दाह्री काट्न खोज्दा एक जना साथी जुरुक्क उठेर बोल्यो, “दलित र क्षेत्री बाहुनले एउटै ब्लेडले दाह्री काट्न हुँदैन।”

साथीको व्यवहारले मन कुँडिएको उनी सुनाउँछन्। “त्यो दिन सबैका अघि शिर झुक्यो। मन कुँडियो। घर आएर बेस्सरी रोएँ,” उनी भन्छन्।
 

प्रकाशित मिति: : 2021-08-06 15:35:00

प्रतिकृया दिनुहोस्