अनियमितताले बदनाम लक्ष्मीपुर पतारी गाउँपालिकालाई सात करोड बेरुजू फर्छ्यौट गर्न महालेखाको ताकेता

Breaknlinks
Breaknlinks

महालेखा नियन्त्रक कार्यालयले बेरुजू फर्छौट गर्न सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ। उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को गरी दुई आर्थिक वर्षको ७ करोड १० लाख २ हजार २ सय ५१ रुपैयाँ बेरुजु फर्छ्यौट गर्न ध्यानाकर्षण गराएको हो।

आर्थिक वर्ष ०७७/७८ सुरु भएको महिना दिन बित्न लाग्दासमेत उक्त गाउँपालिकाले बेरुजु भने फर्छौट गर्न चासो दिएको छैन। महालेखा परीक्षकको विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन, २०७७ मा यस गाउँपालिकाको बेरुजुको फेहरिस्त छ। 

सबैभन्दा बढी बेरुजू उपभोक्ता समितिमार्फत् गरिएको विकास निर्माणको छ। प्रतिवेदनमा उपभोक्ता समितिहरुमार्फत गरिएको विकास निर्माणको काममा दुई करोड ६१ लख ३० हजार ५ सय ९४ रुपैयाँ बेरुजू रहेको उल्लेख छ।

प्रतिवेदन भन्छ–  लक्ष्मीपुर पतारी गाउँपालिकाले गठन गरेका अधिकांश उपभोक्ता समितिले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४४ मा उपभोक्ता समितिबाट निर्माण वा सोसम्बन्धी सेवा प्राप्त गर्दा मितव्ययिता, गुणस्तरीयता वा दिगोपन अभिवृद्धि हुनेभएमा परियोजनाको उद्देश्य रोजगारी सिर्जना गर्ने भएमा कार्य गराउन सकिने ब्यवस्था छ। यस गाउँपालिकाले उपभोक्ता समितिबाट गराइएका अधिकांश कार्यहरुको खरिद बिलसमेत नियमानुसार देखिँदैन।

यस गाउँपालिकाको टुक्रे योजनामा पनि ब्यापक बेरुजू देखिएको छ। पाँच लाख रुपैयाँभन्दा कमका एक सय ६३ वटा योजनामा तीन करोड ३६ लाख २७ हजार भुक्तानी दिएको देखिन्छ। प्रतिवेदनअनुसार पाँच लाखभन्दा माथि १० लाखसम्मको २६ योजनामा दुई करोड १४ लाख ८० हजार रुपैयाँ र १० लाख रुपैयाँभन्दा माथिको योजनामा चार करोड भुक्तानी दिएको देखिन्छ।

उपभोक्ता समितिहरुले विकास निर्माण कार्यको लागि खरिद गरिएको सामग्रीमा त झन् दुई करोड ६१ लाख ३० हजार ५ सय ९४ रुपैयाँ बेरुजू देखिएको छ। शिक्षकहरुको तलबको नाममा निकासा गरिएको १९ लाख ३३ हजार रुपैयाँ बेरुजू छ। त्यस्तै सामाजिक सुरक्षा भत्ताको ५९ लाख ७८ हजार पनि बेरुजू देखिएको छ।

गाउँपालिकाको सूचना प्रविधि अधिकृत रञ्जितकुमार साहको नाममा विविध कार्यक्रम शीर्षकमा निकालिएको पेश्की नौ लाख रुपैयाँ बेरुजु देखिएको छ। साहको नाममा २०७५ माघ २ गते ४ लाख र सोही वर्षको फागुन १२ गते ५ लाख रुपैयाँ पेश्की निकासा गरिएको प्रतिवेदनमा उल्लेख छ।सामाजिक सुरक्षा शीर्षकमा निसा रावलको नाममा निकालिएको ३७ हजार २ सय रुपैयाँ पनि बेरुजु देखिएको छ।

प्रकाशित मिति: : 2021-08-06 10:09:00

प्रतिकृया दिनुहोस्