आफ्नो अनुहारको सुन्दरताप्रति जो कोही पनि सतर्क हुन्छ। वा भनौ, आफूलाई अरुभन्दा सुन्दर बनाउन मानिसले जस्तोसुकै हर्कत गर्न पनि तयार हुन्छ। हुँदा-हुँदा पछिल्लो समय त आधुनिक प्रविधिको विकासले कृत्रिम मानिस (रोबर्ट) समेत निर्माण हुन थालेको छ।
उमेरको हदबन्दीसँगै छाला चाउरिनू मानिसको प्राकृतिक स्वभाव हो। तर यसका बाबजुद पनि आफ्नो शरिरलाई सधैँ एकरुपतामा राख्न मानिसहरु फिट्नेस, शारिरीक व्यायाम र कसरत गरिरहन्छन्।
यहाँसम्म कि, उमेर ढल्किए पनि विभिन्न अंगहरुको सर्जरी गरेर आफूलाई सुन्दर बनाइराख्नू एउटा प्रचलन नै भइसकेको छ। यस विषयको मामलामा पुरुषहरुभन्दा महिलाहरु केही अगाडि देखिदै आएका छन्।
उदाहरण कै लागि हलिउड तथा बलिउडका केही अभिनेत्रीहरुले गरेको सर्जरीलाई हेर्न सकिन्छ। कान, नाक, अनुहार, स्तनलगायत शरिरका विभिन्न अंगहरुको सर्जरी गरेको पाइन्छ।
मानिसहरुले आफ्नो सुन्दरताको लागि कतिसम्म गर्छ भन्ने कुरा 'लेभल १६' ले स्पष्ट पारेको छ। जुन एउटा सत्य घटना र सिनेमा हो।
दृश्य संकेत
आमाबुबा गुमाएपछि सडकमा अलपत्र भएका टुहुरा बालिकाहरुलाई एउटा गर्ल्स होल्टेलले सहयता दिन्छ। त्यस्ता बालिकाहरुलाई होस्टेलमा लगेर राखिन्छ र होस्टेलकै नीति नियम अनुसार बाँच्न सिकाइन्छ।
उनीहरुको लागि त्यही होस्टेल नै दुनियाँ हो भनेर पाठ सिकाइन्छ। होस्टेलबाहिरको दुनियाँबाट उनीहरुलाई टाढा राखिन्छ। पढाइ र करिअर पनि त्यही होस्टेलभित्र नै छ भन्ने भावना उनीहरुको मस्तिष्क र विचारमा थुपारिन्छ। होस्टेलप्रति त्यस्ता बालिकाहरुले पनि शतप्रतिशत विश्वास गर्छन्।
दृश्य नं १
होस्टेलभित्र प्रवेश गरेपछि ती बालिकाहरु कहिल्यै बाहिर निस्कदैनन्। निकालिदैन। उनीहरुले बाहिरको घामको झुल्कोसमेत देख्न पाउदैनन्। बरु होस्टेलले विश्वास दिलाउँछ कि उनीहरु जति सुन्दर बन्छन्, त्यति नै सम्पन्न परिवारले धर्मपुत्री बनाएर लैजानेछन्।
सुरुवाती दृश्य नै केही डरलाग्दो छ। मानौ त्यो कुनै होस्टेल कम र भुतको घर बढी हाे। त्यसैमाथि होस्टेलका नियमहरु पनि अचम्मका छन्। ती बालिकाहरुको उमेर अनुसार फरक-फरक लेभलमा राखिएको छ।
यसो भनिरहदा घटनाका पात्रहरु सोफिया र भिभेन १० औँ लेभलमा छन्। कुनै परिवारमा धर्मपुत्री बनेर होस्टेलबाहिर जान उनीहरुलाई अझै ६ वर्ष लाग्नेछ।
दृश्य नं २
होस्टेलको नियम अनुसार सबै बालिकाहरुले राति सुत्नुपूर्व 'नाइट ड्रेस' लगाउँछन्। त्यतिमात्र नभएर सबै बालिकाहरुले सुत्नुपूर्व अनिवार्य रुपमा एउटा क्याप्सुल(औषधि) खान्छन्। सुत्नको लागि बेडमा पुगेपछि भिभेनले सोफियालाई भन्छिन्, 'यदि मलाई कसैले एडप्ट गर्योभने म तिमीलाई सँगै लिएर जानेछु।'
उमेर बढेसँगै होस्टेलले विभिन्न कस्मेटिक र श्रृंगारका सामानहरु दिएर उनीहरुलाई सुन्दर बन्न दबाब दिन्छ।
दृश्य नं ३
होस्टेलका अनौठा नियमहरुमा उनीहरुले ६ वर्ष बिताउँछन्। अर्थात् उनीहरु अब लेभल १६ मा पुगिसकेका छन्।
होस्टेलले पनि भन्छ, 'अब तिमीहरु लेभल-१६ मा आइसकेका छौ। अब तिमीलाई बाहिरबाट धनी परिवारहरुले आएर लिएर जानेछन्। जतिसक्छौ, तिमीहरु आफूलाई सुन्दर बनाएर राख।'
यति सुनेपछि बालिकाबाट युवती भइसकेका उनीहरु खुशी हुन्छन्। नयाँ परिवार, नयाँ ठाँउ र नयाँ मानिसहरुबारे सपनासमेत देख्न थाल्छन्।
दृश्य नं ४
अरु कसैले थाहा नपाउने गरी सोफियाले भिभेनलाई गोप्य रुपमा आफूहरुले सुत्नुपूर्व खादै आएको क्याप्सुल(औषधि) नखान भन्छे। उसले भन्छे, 'साँझ होस्टेलका कर्मचारीहरुले क्याप्सुल दिएपछि नखाउ है, तर उनीहरुको अगाडि भने खाएजस्तो गर।'
यो कुरा सुनेपछि भिभेन एकछिन् अचम्म पर्छे। र उसले पनि सोफियाले भनेजस्तै गर्छे।
राति सबै सुतिसकेपछि उनीहरु कुराकानी गर्छन्। कुराकानीकै क्रममा सोफियाले भन्छे, 'भिटामिन भनेर वर्षौदेखि हामीले खादै आएको क्याप्सुल कुनै भिटामिन होइन, त्यो त सिल्पिङ क्याप्सुल हो।'
अब यहाँ स्पष्ट हुन्छ कि होल्टेलले वर्षौदेखि ती बालिका तथा युवतीहरुलाई कुनै भिटामिन नभएर निद्राबाट नब्युँझाउने सिल्पिङ क्याप्सुल खुवाउँदै आएको थियो।
दृश्य नं ५
एक साँझ सोफिया र भिभेनले त्यो होस्टेलबाट भागेर बाहिर जाने योजना बनाउँछन्। तर उनीहरुको लागि बाहिर जान भने सजिलो थिएन। यसकारण कि त्यस होस्टेलको चारैतिर धेरै सुरक्षागार्डहरु राखिएका थिए। अझै त्यसैमाथि उक्त होस्टेलको मुख्य चाबी ती सुरक्षागार्डहरु सँगमात्र थियो।
खैर, उनीहरुले जसोतसो भागेर जाने योजना बनाउँछन् र बाहिर निस्कन वैकल्पिक बाटोहरु खोज्न थाल्छन्।
राति सबै सुतिसकेपछि उनीहरु भाग्नको लागि होस्टेलको 'अन्डरग्राउन्ड' कोठामा जान्छन्। त्यसभन्दा अघि उनीहरु कहिल्यै पनि त्यो 'अन्डरग्राउन्ड' कोठामा गएका थिएनन्। तर, जब उनीहरु भाग्नको लागि वैकल्पिक बाटो खोज्दै त्यहाँ जान्छन्, तब उनीहरु अचानक डराउँछन्। आत्तिन्छन्। अचम्म पर्छन्।
यसकारण कि त्यो 'अन्डरग्राउन्ड' कोठामा उनीहरुले दर्जनौभन्दा बढी युवतीहरुको लाश देख्छन्। केही लाशहरुबाट दुर्गन्धित वासना आइरहेको हुन्छ भने केही लाशहरु तत्कालका हुन्छन्। यो सब देखेपछि उनीहरु भाग्ने योजना रद्द गरेर आफ्नो बेडमा जान्छन्।
यो सबै दृश्यहरुसँग सोफिया र भिभेनले मात्र साक्षात्कार गर्छन्। किनकि त्यहाँ भएका अरु सबै युवतीहरु क्याप्सुल खाएर गहिरो निद्रामा पुगिसकेका हुन्छन्।
अर्कोदिन देखि उनीहरुले होस्टेलका मालिक र कर्मचारीहरुलाई निगरानी गर्न थाल्छन्। साँझ सुत्नुपूर्व अरुले साँच्चिकै क्याप्सुल खान्छन् र उनीहरुले भने खाएजस्तो गरेर क्याप्सुललाई शौचलयको ट्यूबमा फाल्छन्। सबै सुतिसकेपछि मध्यरातमा उनीहरुले होस्टेलको मालिक र कर्मचारीहरुलाई पछ्याउँन थाल्छन्।
दृश्य नं ६
अन्ततः उनीहरुले ती लाशहरुबारे जानकारी प्राप्त गर्छन्। भिटामिन भन्दै सिल्पिङको क्याप्सुल दिएर सबै युवतीहरु गहिरो निद्रामा पुगेपछि होस्टेलको मालिक र कर्मचारीहरुले युवतीहरुको अनुहारको छाला बेच्दै आएका हुँदा रहेछन्।
यसलाई यसरी बुझौ कि सबै सुतेको बेला होस्टेलका मालिक र कर्मचारीहरुले युवतीहरुलाई मार्दै अनुहारको छाला महंगो शुल्कमा बेच्दै आएका थिए। अर्थात उमेर ढल्किसकेका विभिन्न धनाढ्य महिलाहरुले सर्जरीको लागि होस्टेलका ती युवतीहरुको अनुहारको छाला खरिद गर्दै आएका रहेछन्।
लामो समयदेखि सबै सुतिसकेपछि कर्मचारीहरुले धनाढ्य महिलाहरुलाई ती युवतीहरू देखाउँदा रहेछन्। र महिलाहरुले चाहेकै अनुहार तथा छाला उपलब्ध गराउन युवतीहरुलाई 'अन्डरग्राउन्ड'मा लगेर मारिदै आएको रहेछ।
अन्त्यमा थाहा हुन्छ कि, होस्टेलले किन बारम्बार युवतीहरुलाई सुन्दर हुन दबाब दिइरहेको थियो। घटनालाई पुर्णविराम दिन सोफिया र भिभेनले प्रहरीको सहायता लिन्छन्।