जापानमा २४ घण्टामा आठ हजार ३९३ जना कोरोना सङ्क्रमित 

जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ। यो अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो। 

ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका समय जापानका स्थानीय सञ्चारमाध्यमले सङ्क्रमण वृद्धिको समाचारलाई विशेष महत्व दिएर सम्प्रेषण गरेका छन्। 

टोकियोमा लगातार पाँच दिनसम्म तीन हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका छन्।

सोमबार टोकियोमा दुई हजार १९५ जनामा सङ्क्रमण पुष्टि भएको थियो। राजधानी वरपरका प्रिफेक्चरहरू कनगावा, चिबा र साइतामा क्रमशः एक हजार ६८६, ७८७ र ७६२ सङ्क्रमित भेटिएका छन्। 

टोकियोमा पछिल्लो समय सङ्क्रमितमध्ये अधिकांश २०–३० वर्षका मानिसहरू रहेका पनि बताइएको छ।

जापानको प्रधानमन्त्री कार्यालयका अनुसार ५० करोडभन्दा बढी अर्थात् जापानको करिब ४० प्रतिशत जनसंख्याले कोभिड–१९ खोपको कम्तीमा एक मात्रा लिएका छन्। जुलाई १२ मा टोकियो महामारीका कारण चौथो पटक सङ्कटकालीन अवस्थामा प्रवेश गरेको थियो।

टोकियोको शहरका क्षेत्रहरूमा पैदल यात्रुहरूको चाप अलिकति कम भए तापनि कोभिड–१९ को अत्यधिक सङ्क्रामक डेल्टा फैलिएपछि सङ्क्रमण सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-08-02 20:30:00

प्रतिकृया दिनुहोस्