गलेश्वर खेतका फाँटमा धानका गाभा भरिन थालेका छन्। धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गरामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन्। हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ।
धानखेतीका लागि यति महत्व दिएर मरिमेट्ने म्याग्दीका किसानले नजिकको बारीमा भने कोदोखेती गरेका छैनन्। घर अगाडि र वरिपरिकै बारीमा कोदो रोपिएको छैन। कसैकसैले बारीका कान्ला र गरामा फलफूलखेती गरेका भए पनि अधिकांशका बारीमा सिरु फुलेको छ। वनमारा र अन्य झारले बारी ढाकेको छ।
म्याग्दीका ग्रामीण भेगबाट समेत कोदोखेती हराउँदै गएको छ। कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कका लागिसमेत दुर्लभ चिज जस्तै बन्दै गएको छ। कोदो फल्ने बारी थलिएको छ। वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ ज्यामरुककोटका हरि शर्माले बताए।
करिब १० वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए। “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?” ५७ वर्षीय शर्माले भने। उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ।
काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन्। रघुगङ्गा गाउँपालिका–६ पाखापानीका बलबहादुर शेरपुर्जाको घरमा पनि खेती गर्ने मानिस छैनन्। उनको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन्।
छोराले बेनी बजारमा व्यापार गर्छन् भने बुहारीले घरमै पसल। वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेडा पनि छैन। कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए।
“कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन। कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?”, उनले सम्झिए, “हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो। दिनभर काम गर्न सकिन्थ्यो।” अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ।
औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भविराज विकले बताए। कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ।
कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन्। भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताए।
गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन्। होटेलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतीकी सञ्चालिका विमला गौचनले बताए। त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ।
कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ।
चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ। चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ।
कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे बताउँछन्।
तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ। म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ५०० हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ।