कुनै एक विषयमा दक्षता हासिल गर्दैमा इतिहास लेखनको क्षेत्रमा काम गर्न सकिँदैन। भाषा, ज्योतिष विज्ञान, गणित, विज्ञान, लिप्यान्तर, रुपान्तर, भाषान्तर, व्याख्या, विवेचना जस्ता विषयमा दक्षता हुनैपर्छ। शंकरमान तिनैमध्येका एक थिए।
इतिहासका अनुसन्धानकर्ताहरुले सन्दर्भ-सामग्री राख्ने क्रममा बाहेक राज्यका कुनै पनि निकायले इतिहासकार शंकरमान राजवंशीको योगदानलाई सम्झेका छैनन्। नेपाली पुराविद्याको खोजमा लागेका मसीजीवीहरुले पनि इतिहासमा उनको भूमिका र योगदानबारे छलफल र मूल्यांकन गरेको देखिँदैन।
‘अनुसन्धान केन्द्रमा बसेर पनि अनुसन्धान गर्ने बानी छैन, पढ्ने, लेख्ने बानी छैन’ भन्ने चिन्तनबाट माथि उठेका शंकरमान प्राज्ञिकवृत्तमा समेत गुमनामजस्तै छन्।
पुरातत्व विभागमा रहेर अध्ययन, अनुसन्धानका क्षेत्रमा सुपरिचित सत्यमोहन जोशी, सूर्यविक्रम ज्ञवाली, रमेशजंग थापा, जनकलाल शर्मा, तारानन्द मिश्र, बाबुकृष्ण रिजाल, साफल्य अमात्य लगायत अध्येताको लहरमा शंकरमानको विशेष स्थान छ। नेपाली इतिहास, संस्कृति र पुरातत्वको परिशीलनमा उनले आफ्नो क्षमता र प्रतिभा राम्ररी उजागर गरेका छन्।