चाँगुनारायणको बजेट पुस्तिका सार्वजनिक

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको भवन निर्माणका लागि चाँगुनारायण नगरपालिकाले रु २५ लाख सहयोग दिने भएको छ। 

आज नगरपालिकाको नवौँ परिषद्बाट पारित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सोमप्रसाद मिश्रले महासङ्घको भवन निर्माणका लागि नगर परिषद्बाट पारित गरेर रु २५ लाख विनियोजन गरेको बताए। 

कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९को चाँगुनारायण नगरपालिकाको कूल बजेट रु एक अर्ब ९० करोड ६४ लाख ८४ हजार २५४ को बजेटसहितको पुस्तिका सार्वजनिक गरिएको छ। 

जसमा पूँजीगततर्फ रु एक अर्ब २४ करोड दुई लाख ७४ हजार ७५४ अर्थात ६५ दशमलव शून्य पाँच प्रतिशत रहेको बताउँदै नगर प्रमुख मिश्रले चालूतर्फ रु ६४ करोड ६२ लाख नौ हजार ५०० अर्थात ३४ दशमलब शून्य नौ प्रतिशत विनियोजन भएको बताए। 

कार्यक्रममा नगरपालिकाका प्रवक्ता परासर सापकोटाले आन्तरिक आयतर्फ व्यवसाय, रजिष्ट्रेसन, सिफारिस, माटो पानी ठेक्का, घर नक्सा पासबाट रु २८ करोड ८४ लाख पाँच हजार प्रक्षेपित आन्तरिक आय अनुमान गरेको बताए।

वित्तीय समानीकरण अनुदानतर्फ सङ्घीय सरकारबाट रु १७ करोड ४५ लाख र सशर्तबाट रु ३३ करोड तीन लाख प्राप्त भएको कार्यक्रममा बताइएको छ।  

राजस्व बाँडफाँडबाट रु आठ करोड ९३ लाख ५३ हजार र सवारी साधनको राजस्व बाँडफाँटबाट रु ६ करोड दुई लाख २७ हजार प्राप्त भएको छ। चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको आफ्नै भवननिर्माणका लागि रु १२ करोड विनियोजन गरिएको छ। 

नगरसभाले भौतिक पूर्वाधारतर्फ सडक तथा पुल निर्माणका लागि रु ५५ करोड ३६ लाख ६५ हजार विनियोजन गरेको छ। नगरमै रहेका बेरोजगार युवाहरुलाई लक्षित गरी मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत युवाको संवद्र्धन उद्यमशीलता प्रर्वद्धन कार्यक्रमका लागि यसवर्ष पनि रु तीन करोड निरन्तरता बजेटको व्यवस्था गरिएको छ। 

नगरभित्रका मुख्य–मुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गरी उज्यालो चाँगुनारायणका लागि यसवर्ष रु ६५ लाख विनियोजन गरिएको छ।  

चाँगुनारायण नगरपालिकाको सडक तथा यातायात क्षेत्रको विकासका लागि सडकको निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधारसहित रु ८० करोड ८४ लाख ५६ हजार २९४ बजेट विनियोजन गरिएको छ। 

बजेटमा एक घर एक धारा कार्यक्रमअन्तर्गत नगरवासीहरुको खानेपानीमा पहुँच सुनिश्चित गर्न खानेपानीमा रु १३ करोड ९३ लाख ८१ हजार ८४६ बजेट विनियोजन गरिएको छ। 

सामुदायिक विद्यालयमा छात्राहरुको शिक्षा, बालविवाह निरुत्साहन र किशोरीहरुको सुरक्षित भविष्य निर्माणमा सहयोगका लागि बचत खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रममा रु ५५ लाख र प्राविधिक शिक्षालाई प्रोत्साहन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षामा कूल रु तीन करोड २८ लाख ७० हजार बजेट विनियोजन गरेको कार्यक्रममा उपप्रमुख बिना बास्तोलाले जानकारी दिए। 

नगरपालिकाले यसै आर्थिक वर्षमा मेड इन चाँगु, फ्री वाइफाई, मेट्रिक सिस्टम हाउस नम्बरिङलगायतका कार्यक्रम पारित गरेको नगरप्रमुख मिश्रले बताए। रासस 

प्रकाशित मिति: : 2021-07-30 21:03:00

प्रतिकृया दिनुहोस्