दलितनेता भीमराव अम्बेडकर भन्छन्, ‘जात भनेको कुनै भौतिक वस्तु होइन, जस्तो कुनै पर्खालको इँटा होस् वा काँडेतारले छेकेको कुनै सिमाना होस्। यो तधारणा हो,मानसिकता हो, मानसिकताको राज्य हो।’ यसर्थ जात एउटा प्रभुत्व कायम गरिराख्न खोज्ने कृत्रिम सोच हो। सोचमा परिवर्तन ल्याउन सके यो आफैं हराएर जान्छ। विगतमा अमेरिकामा रहँदा श्रीलंकन साथी थियो। उसँगै पसल गएँ। त्यही बेला पसलभित्र एकजना काला जातिका मानिसको प्रवेश भयो। त्यो मानिसलाई देखाउँदै श्रीलंकनले अंग्रेजीमा साउती मारे,‘काले आयो है अलिक होस् गर्नुहोस्।’ आँखा भने श्रीलंकन साथीकै छालामा गयो। काला जातिका मानिसलाई ‘काले’ भन्ने श्रीलंकन साथी त उभन्दा दुई गुणा बढी कालो रहेछ। तर पनि किन उसले आफूलाई उभन्दा गोरो र सभ्य देख्यो ?
स्वतन्त्रताको देश भनिएको अमेरिकामा समेत मान्छेबीच एक किसिमको वर्गीकरण तथा श्रेणीको हिसाब हुँदोरहेछ भन्ने कुरा बुझ्दै र भोग्दै गएँ। स्वेत अमेरिकन हो किएसियन ? भारतीय वा स्पानिस?आदि इत्यादि। कुनै फर्म भर्नु पर्यो भने पनि म कुन जातिको हो भनेर ‘अप्सनमा’ ‘टिक’ लगाउने ठाउँमा सबैभन्दा माथि ‘गोरा अमेरिकन’ र सबैभन्दा तल ‘काला जातिको’ श्रेणीगत सूची देखें मैले। लाग्यो यो श्रेणीगत वर्गीकरण त नेपालमा मात्र होइन अमेरिकामा पनि रहेछ। अनि समस्या त छालाको रंगको मात्र होइनरहेछ। यदि हुन्थ्यो त श्रीलंकन साथीले किन आफूभन्दा गोरोलाई आफूभन्दा कालो देख्थ्यो ?
अमेरिकाकै सन्दर्भमा कुरा गर्ने हो भने अझ यो काला र गोरा जातिको विभेद त डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा बढी थाहा पाएँ। ट्रम्प र उनको प्रशासनले गर्ने व्यवहारले धेरै गोरामाथि स्वेत नागरिक हुनुको प्रभुत्वको महसुस गराएको थियो। जसका कारण धेरै अस्वेत नागरिकसडकमाअधिकार खोज्दै आउनु परेको, नाराबाजी गर्नुपरेको थियो। जर्ज फ्लोएडको घटना र त्यसले ल्याएको ‘ब्ल्याक लाइभ्स म्याटर’ले रंगभेद तथा जातीय विभेदलाई बुझ्न अझ मद्दत गरेको थियो। अमेरिकामा रंगभेदको चर्चा गरिएपनि यसको मूल समस्या भनेको जातीय विभेद नै हो। मानिसले मानिसलाई गर्ने विभेद, छालाको रंग, उसको आकृति र बनोट, उसले गर्ने काम र उसकोसामाजिक हैसियतका आधारमा नै हो। यद्यपि जातीय र रंग विभेद एकै होइनन्।