टोकियोमा जारी ओलम्पिक खेलकुदअन्तर्गत जापानको यु–२३ टोली पुरुष फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा जापानको यु–२३ टोलीले फ्रान्सको यु–२३ टोलीलाई पराजित गरेकाे हाे। समूह चरणको अन्तिम खेलमा जापानले फ्रान्सलाई ४–० को फराकिलो अन्तरमा स्तब्ध बनायो।
यससँगै जापान यस ओलम्पिक फुटबलको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको छ। र, यस्तो नतिजा निकाल्ने जापान एक मात्रै टिम हो।
ओलम्पिक फुटबलमा जापान पनि एक मुख्य उपाधि दाबेदार टिम हो। फ्रान्सजस्तो बलियो टोलीलाई हराएर उपाधिमा दाबेदारी प्रस्तुत गरिरहेको छ।
जापान समूह ‘ए’बाट ९ अंकका साथ समूह विजेता बनेर क्वार्टरफाइनल प्रवेश गर्दा सोही समूहबाट मेक्सिको ६ अंकका साथ उपविजेता बनेर जापानसँगै अर्को चरण पुगेकाे छ। ३ अंक भएको फ्रान्स र अंकविहीन साउथ अफ्रिका दुवै समूह चरणबाटै बाहिरिएका छन्।