जुम्लाकाे पातारासीमा बाढी आउँदा एकको मृत्यु, दर्जनाैँ काठेपुल र सात घट्ट बगे

मंगलबार राति परेकाे भारी वर्षाका कारण जुम्लाको पातारासी गाउँपालिकामा एक जनाको मृत्यु भएकाे छ भने दर्जनाैँ काठेपुल र घट्ट बगेका छन्। 

बाढीले घट्ट पिस्न गएकी पातारासी–३ छुम गाउँकी ३० वर्षिया सर्मिला बुढालाई बगाएपछि मृत्यु भएको प्रहरीले जनाएको छ भने बुधबार प्रहरीले मृत्तकको मुचुल्का गरेपछि आफन्तले दाहासंस्कार गरेकाे पातारासी–३ का वडा अध्यक्ष बिर्खराम बोहोराले जानकारी दिए। 

उनका अनुसार मृतक बुढा सँगै घट्ट पिस्न बसेका अन्य दुई महिला भने भागेर बाँच्न सफल भएका छन्। उनीसँगै स्थानीय मनसुपा थापा र जसुकला बुढा पनि घट्ट भित्रै थिए। घट्टभित्र पानी पसेपछि दुइजनाले भागेर ज्यान बचाउन सफल भए भने मृत महिला अपांगता भएकोले बाढीले घट्ट सँगै बगायो। 

बाढीले पातारासीका ७ वटै वडामा बाढीले क्षति पुर्‍याएकाे छ भने मकै, आलु, सिमि, कोदो, चिनो लगायत अन्नबाली रोपिएका खेतबारी बगरमा परिणत भएका छन्। 

अन्य क्षेत्रभन्दा वडा नं. ३ छुमा बढी क्षती भएको स्थानीय श्रीराम बुढाले बताए। 'आवतजावत गर्न पुल पनि छैनन्। बाली सबै बालुवामा परिणत भएको छ,' उनले भने, 'घर नै बगाउने चिन्ताले राती जाग्राम बस्न थालेका छाैं।'

बाढीले ७ वटा पानी घट्ट बगेको पातारासी गाउँपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख जन महताराले बताए। 

'लुम तथा छुम गाउँ जोड्ने करिब एक दर्जन बढी काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको छ,' उनले भने, 'करिब २५ वटा पशु चौपाया समेत बाढीले बगाएको छ।' 

त्यस्तै बाढीले पातारासी गाउँपालिका -४ लुमका पनि ६ वटा काठेपुल बगाएको छ भने गोडमेल गरेर पाक्न थालेका अन्नबालीहरु पूर्ण रुपमा क्षति गरेकाे छ।

बढीले आसपासका खेतीयोग्य जमिन पनि कटान गरेको छ। वर्षासँगै बाढी आउने क्रम जारी रहेकोले क्षतिको एकिन विवरण आउन नसकेकाे पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताए।

'बाढीमा परि मृत्यु हुनेलाई गाउँपालिकाले तत्काल २५ हजार राहत स्वरुप उपलब्ध गराउनेछ,' उनले भने, 'काठेपुल बगाउँदा आवतजावत बन्द भएकोले आवतजावत सहज गर्न मर्मत तथा पुनःनिर्माणको कामलाई चाँडै अघि बढाइनेछ।' 

उनका अनुसार पालिकाका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ। घरभित्रै बाढी बसेर केहि परिवार विस्तापित पनि भएका छन् भने थुप्रै बाटाघाटा पनि भत्केका छन्। तत्काल कार्यपालिका बैठक बसेर राहत, उद्दार तथा मर्मत कार्यलाई अघि बढाइनेछ।

प्रकाशित मिति: : 2021-07-28 22:02:00

प्रतिकृया दिनुहोस्