टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

Symbolic photo
Symbolic photo

जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन्।

सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलो पटक भएको जनाएको छ। 

विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो। 

यसअघि मङ्गलबार दुई हजार ८४८ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । देशभरी भने झण्डै सात हजार सङ्क्रमित भएको देखिएको छ। 

गतवर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको हो। महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा महामारी थप फैलिने खतरा देखिँदै गएको छ। 

महामारी थप फैलिन नदिने उद्देश्यले टोकियोमा उच्चसतर्कता र उच्चसुरक्षा व्यवस्था गरिए पनि महामारी भने फैलिँदै गएको देखिएको छ। 

जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मका लागि टोकियोमा चौथो चरणको सङ्कटकाल लागू गरेको छ। 

टोकियोका बार तथा रेस्टुरेन्टहरूमा मादक पदार्थ विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका सबेरै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। 

ओलम्पिक खेलकुद प्रतियोगिताका लागि लाखौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरू टोकियोमा भेला भएका छन्। 

प्रकाशित मिति: : 2021-07-28 20:54:00

प्रतिकृया दिनुहोस्