एमालेमा तेस्रो अध्यक्षको खोजी

सर्ला त तेस्रो पुस्तामा एमाले नेतृत्व ?

रातोपाटी

काठमाडौं

लामो समयदेखि कचल्टिँदै आएको नेकपा एमालेको अन्तरविरोधले नयाँ आकार लिएको छ । तत्कालका लागि एमाले नफुट्ने पक्का भएको छ । आसन्न महाधिवेशनसम्म अन्तरिम कालका लागि केपी ओली र माधव नेपाल दुबैलाई अध्यक्ष बनाएर सम्झौता गर्ने गृहकार्य सुरु भएको छ । र, अब केही महिनाभित्रै हुने महाधिवेशनपछि ओली र नेपाल बाहेक तेस्रो अध्यक्षको खोजी गरिनेछ ।  

अध्यक्ष ओलीले यसअघि नै आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने घोषणा गरिसकेका छन् । अब माधव नेपालले पनि आगामी महाधिवेशनबाट अध्यक्षको दाबी छोड्नुपर्ने ओली पक्षीय नेताहरूको माग छ । तर, वरिष्ठ नेता नेपालले आगामी महाधिवेशनबाट एक कार्यकालका लागि अध्यक्ष बन्ने चाहना राखेका छन् ।

माधव नेपाललाई मनाउन सकेको खण्डमा आगामी महाधिवेशनबाट एमालेमा तेस्रो व्यक्ति अध्यक्ष बन्ने सम्भावना बढेको छ । को होला त त्यो तेस्रो व्यक्ति ? एमालेभित्र अहिले यसबारे खोजी हुन थालेको छ ।

दोस्रो तहका नेताहरूको पहलमा पार्टीलाई एकताबद्ध बनाउँदै आगामी महाधिवेशनसम्म दुई अध्यक्ष र त्यसपछि ओली नेपालबाहेक तेस्रो व्यक्ति अध्यक्ष बनाउने गरी सहमतिको प्रयास सुरु भएको एमाले नेताहरूको भनाइ छ ।

प्रकाशित मिति: : 2021-07-27 13:13:00

प्रतिकृया दिनुहोस्