२०५६ सालमा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बहुमतको सरकार थियो।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चुनावअघि नै भट्टराईलाई प्रधानमन्त्रीको ‘फेस’ का रूपमा घोषणा गरिसकेका थिए। त्यसको परिणाम चुनावमा पनि देखियो। कांग्रेसले बहुमत पायो।
त्यतिबेला उत्कर्षमा पुगिसकेको माओवादी जनयुद्धलाई भट्टराई वार्ताबाट समाधान गर्न खोजिरहेका थिए।
तर, सभापति कोइरालाले मनमा अर्कै योजना बुनिसकेका थिए। र, त्यो थियो आफ्नै पार्टीका प्रधानमन्त्री भट्टराईलाई पदच्युत गर्ने। उनकै निर्देशनमा २०५६ फागुन २९ गते कांग्रेसका ६९ सांसदले भट्टराईविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरे।
जबकि भट्टराईले ‘अविश्वास प्रस्ताव दर्ता नगराउनुस्। फ्रान्सबाट फर्किएलगत्तै म राजीनामा दिन्छु’ भनेका थिए।
तर, कोइरालाले मानेनन्। र, आफ्नै पार्टीबाट प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव दर्ता भएको नेपालकै इतिहासमा त्यो पहिलो घटना बन्यो।
अहिले नेपालको राजनीतिक परिदृश्य पनि लगभग उस्तै छ। फरक केबल त्यतिबेला भट्टराईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो भने अहिले एमालेका सांसदहरूले इतर दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिए। र, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदच्युत भएका छन्।
त्यतिबेला माओवादी जनयुद्ध समस्या बनेको थियो। अहिले ओलीले दुईपटक गरेको प्रतिनिधिसभा विघटन।
अर्को फरक आफ्नै पार्टीबाट अविश्वास प्रस्ताव दर्ता भएर सरकारको नेतृत्व छोड्नु परे पनि भट्टराईले संसदमा उभिएर विश्वासका साथ आफ्ना धारणा राखे। तर, निर्वतमान प्रधानमन्त्री ओलीले त्यो साहस देखाउन सकेनन्।
विश्वासको मत लिँदै गर्दा देउवाले भनेका थिए ‘ओलीजीले सम्बोधन गर्दा म सँधै संसदमा उपस्थित भएको छु। तर, आज उहाँ आउनु भएको छैन। सबै प्रधानमन्त्रीको चाहना हुन्छ संसदमा बोलिरहँदा प्रतिपक्ष दलका नेता उपस्थित होउन्।’