प्रिय आमा,
धेरै दिनदेखि यो मनमा खेलेको कुरा तिमीलाई लेख्दैछु। हुन त मैले तिमीलाई 'तिमी' भनेर सम्बोधन गर्न नहुने हो तर तिमी सधैं मेरालागि आमाभन्दा बढी साथीजस्तै भयौ।
उमेरकै कुरा गर्ने हो भने हामीबीच केवल १५ वर्षको मात्रै फरक छ। १५ वर्षको वाल्यकालमै तिम्रो शरीरले त्यो प्रशव पीडा कसरी सह्यो होला?
मेरो हजुरबुवा अर्थात् तिम्रो बुवाले गाउँकै शिक्षित भएर पनि किन १२ वर्षकै उमेरमा तिम्रो कन्यादान गरे। जुनबेला तिम्रो हातमा पुस्तक र क़लम थम्याउन पर्ने थियो त्यो बेला हजुरबुवाले तिम्रो हात नै अरुको हातमा किन थमाइदिए होलान्? यस्तै–यस्तै प्रश्नहरुले डेरा जमाउँछन्, आजभोलि मेरो मष्तिस्कमा।
अहिले सम्झिँदा नि कहाली लाग्छ। ओहो! बाह्र वर्षकै कलिलो उमेरमा तिमीले कसरी घरजम गर्यौद होला? त्यो वाल–मस्तिष्कले विवाह भनेको के हो भन्ने पत्तो नपाउँदै तिमी पराई घर गईसकेकी थियौ।
बिहा पछि सिउँदो रङ्गाउन प्रयोग गरिने सिन्दुरलाई बट्टाबाट फ्याकेर तिमीले बट्टालाई खेल्न हुन्छ भनेर जतन साथ राखेकी थियौ रे! सायद तिम्रो बाल मस्तिष्कले सिन्दुरलाई पनि राम्रोसँग चिनिसकेको थिएन।
तिम्रो बिहे हुँदा तिमी १२ वर्षको अनि मेरो बुवा मात्र १९ वर्षको। बुवासँगको तिम्रो यात्रा कति सहज भयो र कति असहज भयो भन्ने कुरा त म अनुमान लगाउन सक्दिनँ, तर तिमी र बुवाको सम्बन्ध साच्चै नै रथका दुईपाङ्ग्रा जस्तै भए। जुन एक अर्का बिना सम्भव थिएन।
जिन्दगीको २० औ वसन्त पार गरी नसक्दै तिमीले दुईवटा सन्तान हुर्कायौ। आर्थिक अभावले घेर्दाघेर्दै पनि हामीलाई केही कुराको कमी हुन दिइनौ। भाई र म पूर्ण रुपमा हुर्किसकेपछि मात्रै तिमीले बल्ल आफ्नो भविष्यको सुरुवात गरेको मलाई अझै याद छ।
कति कठिन थियो होला तिम्रालागि त्यो समय ! जतिबेला आफैँले राम्रोसँग सांसारिक परिवेश बुझिनसक्दै सबै कुरा सम्हाल्नुथियो। तिमीलाई देख्दा यस्तो लाग्छ– किताबी ज्ञान मात्रै सबै थोक हैन रहेछ। तिमीले किताबी ज्ञानभन्दा बढी जीवनमा खाएको हण्डरबाट धेरै कुरा सिक्यौ। आजको दिनसम्म आइपुग्दा तिमीले कति काँडाहरुको सामना गर्नु पर्याे होला।
यो पुरुष प्रधान देशमा जन्मेर अघि बढ्न कति सकस भयो होला। यो समाजलाई चुनौती दिदैं अघि बढिरह्यौ। आज तिमी नेपालकै प्रथम महिला सरोद वादक भनेर चिनिँदा यो छाती गर्वले फुल्छ आमा !
सुनेकी थिएँ, आफ्नो सन्तानको प्रगतिमा बावुआमा जस्तो खुशी अरु कोही हुँदैन, तर तिम्रो प्रगति देखेर म पनि उत्तिकै खुशी छु, आमा। आज तिम्रा प्रगतिका पाइलाहरु अघि बढेको देख्दा हर्षले मन भरिन्छ। आफूले अश्रुधारा चुहाउँदै भए पनि मलाई सधैं खुशी राख्यौ।
आज म जे छु, जहाँ छु, सबै तिम्रो त्याग र बलिदानको परिणाम हो। तिम्रोसमिपमा रहँदा नै यी सबै कुरा मेरो मनमा नखेलेका हैनन् तर विवाह गरेर आफू तिमीबाट टाढिएपछि यो सब कुराहरुले मलाई अझ बढी सोच्न बाध्य गराउँदैछ। आज म खुशी छु, तर पनि तिम्रो सम्झना आइरहन्छ।
जसरी तिमीले जीवनका खुड्किलाहरु चढ्दै अघि बढ्यौ मलाई पनि त्यसरी नै अघि बढ्नु छ। जसरी तिमीले कलिलै उमेरमा कर्म घर सम्हाल्यौ, त्यसरी नै मलाई पनि कर्म घर सम्हाल्नु छ। तिमीले दिएको संस्कारलाई शीरोपर गर्दै यो नयाँ संसार सजाउनु छ। तिम्रो नामलाई मैले सधैँ उच्च राख्न सकौँ। बुवा र तिमीले दिएको संस्कारलाई मैले कहिल्यै गलत सावित गर्ने छैन।
अन्त्यमा, तिम्रो अथाह माया र आशीर्वादका साथ मेरो क्रेन घर सम्हाल्दै जीवनमा अघि बढ्न सकूँ भन्ने कामनाका साथ बिदा चाहन्छु!
तिम्री माया गर्ने छोरी
रुमु न्यौपाने