कांग्रेस र माओवादीकेन्द्रले ह्वीप लगाउने अरु दलमा चाहिँ ह्वीप लाग्दैन भन्न मिल्दैन, बहुदलीय व्यवस्थामा ह्वीप जरुरी छ : सुवास नेम्वाङ (भिडियोसहित)

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना दलका सांसद्लाई ह्वीप लगाउने तर अरु दलका हकमा भने ह्वीप नलाग्ने बहुदलीय संसदीय राजनीतिक प्रणाली नेपालको नरहेको बताएका छन्। लोकतन्त्रको सुदृढीकरणका लागि सबै दलमा समान रुपले ह्वीप लाग्ने उनले बताए।

प्रतिनिधिसभाको विशेष समयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन रोष्टममा उभिएका नेम्वाङले प्रश्न गरे, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाबी गरेर निवेदन दिँदा कांग्रेस संसदीय दलको नेता भनेर पार्टीले निर्णय गरी पठाएको छ। के अरु दलको चाहिँ त्यस्तो निर्णय आवश्यक पर्दैनथ्यो ?’

उनले वर्तमान संविधानले निर्दलीय अवस्थाको परिकल्पना नगरेको पनि बताए। संविधानसभाका अध्यक्ष भइसकेका पूर्वसभामुख नेम्वाङले संसदीय व्यवस्थामा ह्वीप अपरिहार्य भएको पनि बताए।

‘कांग्रेस संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन र विश्वासको मतका पक्षमा मतदान गर्न निर्देशन ग-यो। के त्यो ह्वीप होइन ?’, उनले प्रश्न गरे, ‘माओवादीकेन्द्रले विश्वासको मतका दिन निर्णय ग-यो र आफ्ना सांसद्लाई निर्देशन ग-यो। के त्यो ह्वीप होइन ?’

आफू ह्वीप लगाउनुपर्छ भन्ने पक्षमा रहेका बताउँदै उनले भने, ‘आफ्नो दलमा चाहिँ ह्वीप जारी गर्ने अनि अरु दलमा चाहिँ ह्वीप लाग्दैन भन्न मिल्दैन। लोकतन्त्रको भविष्यका लागि पनि यसबारे बौद्धिक बहस जरुरी छ।’

नेम्वाङले आफ्नो पार्टी संविधानको सर्वोच्चता र कानूनी राजमा विश्वास गर्ने भएका कारणले असहमतिका बाबजुद पनि सर्वोच्च अदालतको निर्णय स्वीकार गरेको बताए।

‘सर्वोच्च अदालतको यसपटकको (असार २८) र ०५२ फागुन १२ गते मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको फैसला दुवैसँग असहमत छौँ तर त्यसलाई कार्यान्वयन गरेर अघि बढ्यौँ’, उनले भने।

प्रकाशित मिति: : 2021-07-23 14:08:00

प्रतिकृया दिनुहोस्