बिरुवा अभावमा रबर खेतीको विस्तार प्रभावित

Photo- bharatdiscovery.org
Photo- bharatdiscovery.org

कोरोना महामारीका कारण भारतबाट बिरुवा ल्याउन नसक्दा जिल्लामा यस वर्ष रबर खेती विस्तार हुन सकेन। झापा, इलाम, सुनसरी र मोरङमा प्राकृतिक रबरको खेती हुँदै आएको छ।

मुलुकभित्रै पर्याप्त बिरुवा उत्पादन नगरिएको र महामारीले नाका बन्द हुँदा भारतबाट बिरुवा भित्र्याउन नसक्दा रबर खेती विस्तार कार्यक्रम प्रभावित बनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए।

रबर जोन कार्यक्रममार्फत आर्थिक वर्ष २०७७/७८ मा २० हेक्टर जग्गामा रबर खेती विस्तार गर्ने लक्ष्य थियो। बिरुवा अभावमा तीन हेक्टरमा मात्र खेती विस्तार भएको उनले बताए। नेपालमा भारतको आसामबाट रबरको बिरुवा ल्याउने गरिएको थियो। सीमानाका बन्द भएकाले यस वर्ष भारतबाट बिरुवा आएन। भद्रपुरको एग्रो फरेस्ट कम्पनीले उमारेको रबरको बिरुवासमेत मरेको उनले जानकारी दिए।

भद्रपुरको नर्सरीले गत आवमा ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको थियो। तर आठ हजार मात्र उत्पादन गर्न सफल भएको उनको भनाइ छ। रबरको बिरुवा जेठभित्र रोपिसक्नुपर्ने हुन्छ। असार महिनासमेत बितिसकेको हुँदा अब खेती विस्तारका लागि अर्को वर्ष पर्खिनु पर्नेछ।

रबर खेती विस्तारका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आवमा रु १५ लाख विनियोजन गरेको थियो। जबकि परियोजनाले रु चार करोड आवश्यक परेको भन्दै पर्याप्त बजेटको माग गरेको थियो।

रबरको खेती विस्तारमा कोभिड–१९ का कारण बजेट कटौतीसमेत चुनौती देखिएको छ। झापाको मेचीनगर, अर्जुनधारा, भद्रपुर, दमक, बिर्तामोड, कनकाई नगरपालिका र बाह्रदशी, कचनकवल र हल्दिबारीलगायत पालिकामा रबरको व्यावसायिक खेती हुँदै आएको छ।

रबर जोन सञ्चालक समितिका अध्यक्ष शान्तिराम चिमिरियाले हाल भापामा ५०० हेक्टर क्षेत्रफलमा रबर खेती गरिएको तर २५५ हेक्टर रबर खेतीमात्र परियोजनामा सूचीकृत भएको बताए। रबर बहुवर्षीय बाली भएको हुँदा किसानले धान खेत र चिया बगान मासेर यसको खेती गर्दै आएका छन्। परियोजनाले जनाएअनुसार रबर खेती भइरहेको कूल जग्गामध्ये ६० प्रतिशत धान मासेर, १२ प्रतिशत चिया मासेर र २८ प्रतिशत बाँझो जग्गामा लगाइएको हो।

बिरुवामा परनिर्भरता हटाउन मेचीनगर नगरपालिकाको वडा नं ३ मा निन्दा रिभरलेण्ड होमस्टे एण्ड एग्रो प्रालिले स्थानीय तह र परियोजनासँगको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापना गरेको छ। परियोजनाको रु १० लाख, मेचीनगर नगरपालिकाको रु पाँच अनुदान र कम्पनी आफैँले रु पाँच लाख लगानी गरेर नसरी स्रोत केन्द्र स्थापना गरेको हो। जहाँ रबरको पाँच हजार बिरुवाको नर्सरी राखिएको छ।

गत आवमा तीन हेक्टर क्षेत्रमा गरिएको रबर नर्सरी चालु आवमा विस्तार गरिने कम्पनीका कोषाध्यक्ष योगेश भट्टराईले बताए। कम्पनीले पाँच हजार बिरुवा रोपिसकेको उनले जानकारी दिए।

आगामी दिनमा बिरुवामा आत्मनिर्भर बनाउन परियोजनाले रबर खेतीमा लागेका निजी क्षेत्रसँग साझेदारीमा नर्सरी सञ्चालन गर्ने र तिनीहरुलाई अनुदान प्रदान गर्ने नीति लिएको छ।रासस

प्रकाशित मिति: : 2021-07-18 12:09:00

प्रतिकृया दिनुहोस्