सुदूरपश्चिम सेवा समाज युएईको चौंथो अधिवेशन सम्पन्न

युएईमा कार्यरत सुदूरपश्चिमका नेपालीहरुले ६ वर्ष अघि स्थापना गरेको ‘सुदुर पश्चिम सेवा समाज युएई’को चौंथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ।

युएईमा लागू कोभिड १९ सम्बन्धि सुरक्षा तथा सावधानीलाई ध्यान राखी भर्चुअल माध्यमबाट आयोजना गरिएको अधिवेशनले दानसिंह महराको अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। 

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मोहन ठगुराठी चयन भएका छन्, भने प्रथम उपाध्यक्ष नवराज भट्ट, उपाध्यक्ष शिवराज तिमल्सिना र महासचिवमा यादव पन्त र सचिवमा नरेश पन्त चयन भएका छन्। त्यसैगरी सह–सचिवमा घनश्याम महरा, कोषाध्यक्ष नरेश भट्ट र सह–कोषाध्यक्षमा मनोज साउद चयन भएका छन्।

यसैगरी नवगठित कार्यसमितिको सदस्यहरूमा सिर्जना मल्ल, अनुप्रिया पन्त, निर्प नेपाली, मानसिंह नाथ, हृदयराज बजगाँई, अजय भट्ट, बिमल क्षेत्री, भक्त खड्का, टंकप्रसाद जोशी र समीप क्षेत्री चयन भएका छन्।

संस्थाका निवर्तमान अध्यक्ष भिमबहादुर सिंहको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल र विशिष्ट अतिथि अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजका अध्यक्ष धनसिंह बलायरले नवगठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

युएईको अलएन, अबुधाबी, दुबई र सारजाह–अजमानमा क्षेत्रीय समिति विस्तार गरेको सुदूरपश्चिम सेवा समाज युएईले युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्नुको साथै नेपालमा समेत विपतको बेला सहयोग गर्दै आएको छ। भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा ५ लाख नेपाली रुपैयाँ सहयोग गरेको थियो, भने गतवर्ष युएईमा कोरोना प्रभावित ४ सय बढी नेपालीहरुलाई राहत उपलब्ध गराएकाे थियाे।

प्रकाशित मिति: : 2021-07-17 09:08:00

प्रतिकृया दिनुहोस्