नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले सभापति देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो।
बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'आज कस्तो मन्त्रिमण्डल निर्माण गर्ने, कति जना सहभागी हुने, कुनकुन पार्टी समावेश हुने भन्ने बारेमा एकपटक छलफल गरेपछि मात्र यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले हामीले अहिले नै सरकारमा सहभागी हुनेको नामबारे टुंगोमा पुगेको छैनौँ', उनले भने।
सरकार सञ्चालनका विषयमा प्रचण्डले देउवासँग छलफल गर्ने र त्यसका आधारमा आवश्यक निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। माओवादीले सम्पूर्ण राजनीतिक दललाई संविधान र लोकतन्त्रका पक्षमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ।