मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ।
सुदूर–पश्चिम प्रदेशसभा सांसद रहेकी वादीले मानव अधिकार–सामाजिक न्यायका लागि गर्नुभएको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
२०७८ मंसिरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ।
२०१८ साल फागुन ४ गते जन्मिएकी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिनलामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन्। उक्त आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो।
विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बीबीसीले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाको सूचीमा १० औं स्थानमा राखेको थियो।