प्राकृतिक स्वतन्त्रतामा मानिसकाे बढ्दाे हस्तक्षेप

विजय बस्नेत

काठमाडौँ

प्रकृतिले संरचना गरेका हरेक क्रियाकलापहरु प्रकृति आफैले चलायमान बनाउदै अघि बढेको हुन्छ। तर अहिले मानिस प्रजाति प्रकृतिका नियम तोड्दै अघि बढेको छ। प्रकृतिका स्वतन्त्रता खोस्दै मानिसले आफ्नो विकासक्रम अघि सार्दै गएको छ।

सम्पुर्ण जीव तथा परजीवीहरु प्रकृतिले बनाएको संरचनामा बसोबास गर्दै आएका छन्। जीवहरु प्रकृतिको नियममै अघि बढिरहेका छन्। प्रकृतिका नियम तोड्ने जीवहरुको अस्थित्व लामो समयसम्म रहेको देखिदैन। मानिसले अहिले प्रकृतिको स्वतन्त्रतालाई हस्तक्षप गर्दै अघि बढेको छ। त्यसैले भोग्दै पनि छ कयौँ प्राकृतिक विपदको सामना।

नदी, डाँडाकाँडा, वनजङ्गलजस्ता प्राकृतिक स्रोतहरु सधैँ बिहानको घामका किरणसँगै रमाइरहेका हुन्छन्। वनजङ्गलभित्र अनेक प्रजातिका जीवहरु रमाउँदै दैनिकी शुरु गरिरहेका हुन्छन्। पंक्षीहरु चिसो हावासँगै रमाइरहेका हुन्छन् घामका किरणहरुमा। कतै पुतलीहरु फूलका सुगन्धमा रमाइरहेका हुन्छन्। किरा-फट्याङ्ग्राहरु वनजङ्गलका फाँटहरुमा र सरिसृप जीवहरु न्यानो घामका किरणहरुमा प्रकृतिलाई अङ्गालो हालेर रमाइरहेका हुन्छन्।

सानादेखि ठूला जनावारहरु प्रकृतिलाई नियाल्दै अघि बढिरहेका हुन्छन्। वनजङ्गलदेखि अलिक टाढा कतै फाँटहरुमा त, कतै भिराला जमिनहरुमा मानिस प्रजातिले आफ्नो विकास विस्तार गरेको छ। हिमाल, पहाड, तराइ हुँदै सागरमा पुग्ने नदीहरुमा जलचर जीवहरुले आ–आफ्ना बसोवास गर्ने संरचनाहरु बनाएका हुन्छन्। सागरहरुमा पनि कयौँ सुक्ष्मदेखि विशाल जलचर जीवहरु बसोबास गर्दै आएका छन्। कयौँ अध्ययनहरुले सागरहरुबाट नै जीवहरुको विकास भएको पुष्टि गरेका छन्।

आकाश, घाम, जुन र ताराहरुले प्रकृति जति स्वतन्त्रत हुन्छ, त्यति नै स्वच्छ, सफा र शुन्दर पनि छ। हाम्रा वरपरका वातावरण, 'इकोसिस्टम', सबै प्रकृतिमा सामाहित छन्। सम्पुर्ण प्राकृतिक स्रोत र साधनहरु एकअर्कामा आड लिएर उभिरहेका छन्। धर्तिमा प्रकृतिका रुपहरु अनगिन्ती रहेका छन्। कतै हिमाल, पहाड, कतै समथर फाँट र मैदानहरु, कतै ताल, सागरहरु, टापुहरु कतै खोला, नदीहरु ।

कहीँ धेरै गर्मी, कहीँ धेरै चिसो र कहीँ मध्यम। कहीँ घाँसे मैदान, वनजङ्गल, कहीँ मरभूमि छन्। विभिन्न स्रोत साधनहरुले भरिएको प्रकृतिको प्राकृतिक सौन्दर्य साँच्चिकै अकल्पनीय छ।

प्रकृतिमा प्रकृतिक फेरबदल हुनु स्भाविक हो। जसलाई हामी प्राकृतिक विपद भन्छौँ। प्राय जीवहरु प्रकृतिसँग अनुकुलन भएर जिउन चाहान्छन्। तर कुनै जीवहरु भने अनुकुलनदेखि भाग्न खोज्छन्। जसमा मानिस प्रजाति पनि पर्छ। मानिस प्रजातिले आफ्नो अस्थित्वको दाउँमा अन्य जीवको अस्थित्व धरापमा पारिरहेका छन्। मानिस धर्तीकै चेतनशील प्राणिमा एक हो। त्यही चेतनाले अन्य जीवहरुलाई दबाएको छ।

बढ्दो जनसङ्ख्या, औद्यौगिक क्रान्ति, अन्य विकासक्रमजस्ता कुराहरु मानिसले अघि सारेको छ। जसले गर्दा प्रकृतिलाई खलल पुगेको छ। प्रकृतिसँग अनुकुलन वातावरणको जिम्मा मानिस प्रजातीले लिएको देखिदैन। सोही अनुकुलनको कुराले प्राकृतिक प्रकोपको नयाँ रुप सिर्जित भएको छ। अहिलेको विकासक्रम प्रकृतिसँग प्रतिकुल रहेको छ। प्रकृतिको अध्ययन अनुसन्धानविना प्राकृतिक स्रोत र साधनलाई पाखा लगाउने कार्य मानिस प्रजातिले गरिरहेको छ। मानिसले अहिलेका विकासक्रमहरुलाई प्रकृतिसँग अनुकुलन नगरी अघि बढ्दै गएमा ठूलो मुल्य चुकाउनु पर्नेछ।

मानिसले प्राकृतिक स्वतन्त्रता खोसेकाे छ

सम्पुर्ण वस्तुहरुले आ–आफ्नो स्वतन्त्रता खोज्दै अघि बढेका हून्छन्। प्रकृति पनि अफ्नो स्वतन्त्रतामा रमाइरहेको हुन्छ। जब कुनै स्वतन्त्र वस्तुको स्तन्त्रता खोसिन्छ, उक्त वस्तुको परिवर्तित क्रान्ति शुरु हुन्छ। अहिले मानिसले प्राकृतिक स्वतन्त्रता खोसिरहेको छ। खोस्दै अघि बढेको छ। फलस्वरुप प्रकृतिले पनि आफ्नो स्वतन्त्र क्रान्ति शुरू गरेकाे छ। मानिसले आफ्नो स्वतन्त्रता बढाउन प्राकृतिक स्रोत र साधनहरुलाई हस्तक्षेप गरेको छ।

अन्य जीवहरुको स्वतन्त्रता पनि मानिसले खोसेको छ। मानिसले आफ्नो स्वतन्त्रता कसैले हस्तक्षप नगरोस् भन्ने चाहान्छ। तर प्राकृतिक स्वतन्त्रतामा ध्यान दिएको देखिदैन। प्रकृतिले वनाएका संरचनाहरुलाई मानिस आफैले फरक स्वरुप दिएर आफ्नै संरचना बनाइरहेको छ। मानिसको आधुनिक विकासक्रम अहिले प्राकृतिक अनुकुलनभन्दा प्रतिकुलनमा बढिरहेको छ। त्यही विकासक्रमहरुले अहिले प्रकृतिको स्वतन्त्रता खोसिरहेका छन्।

मानिसकाे कस्ताे विकासक्रमले प्राकृतिक विपदको जोखिम ल्याउँछ ?

प्राकृतिक विपदहरु आफैमा डरलाग्दा र भयानक हुन्छन्। प्राकृतिक विपदहरु धेरै प्रकारका हुन्छन्। कति प्रकृतिका कारणले हुन्छन् त कति मानवीय कारणले सिर्जित हुन्छन्। प्रकृतिका कारणले हुने विपदहरुको भविष्यवानी गर्न सकिदैन। मानवीय कारणले सिर्जित हुने कुनै विपदहरुको भविष्यवानी गर्न सकिन्छ। रोक्न पनि सकिन्छ। जुन सामान्यदेखि खतरनाकसम्म हुन्छन्।

मानिसले विभिन्न विकासका पूर्वाधार अघि बढाउँदै लगेको छ। जसमाः सडक, बिजुली, औद्योगिक क्रान्ति, वनजङ्गल विनाश, बढ्दो सहरिकरण, खोला अतिक्रमणजस्ता मुख्य क्रियाकलापहरु पर्दछन्। यसले जलवायु परिवर्तन, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम बढिरहेको छ। वर्षेनी यस्ता प्राकृतिक प्रकोप बढ्दै गइरहेका छन्। अहिले प्रकृतिका कारणले भन्दा मानिसले विकासकाे नाममा गर्ने गतिविधिले विपदहरु बढ्दै गइरहेका छन्। प्राकृतिक प्रकोपले 'इकोसिस्टम', रोगहरुको विकास, पुर्वाधारहरुको विनाश, आधारभुत सेवाहरुमा अवरोध, प्राकृतिक स्रोत र  साधनहरुमा क्षतिजस्ता समस्याहरु देखा पर्ने गर्दछन्। कति जीवित प्रजाति त लोप भएर जानसक्ने जोखिमसमेत हुन्छ।

मानिसले प्राकृतिक प्रकोपलाई सामान्य रुपमा लिइरहेकाे छ

प्रत्येक वर्ष प्राकृतिक विपदहरुबाट कयौँ क्षति हुन्छ। मानवीय क्रियाकलापले नै मानिसले विभिन्र विपद भाेगिरहेका छन्। मानिसले जति ठूलो प्राकृतिक प्रकोप आउँदा पनि सामान्य रुपामा लिन्छ। प्रकृतिमा हुने विभिन्न फेरबदलले नै जीवहरुको अस्थित्व सुरक्षित रहेको हुन्छ। तर प्रत्येक प्राकृतिक विपदहरुले मानिस तथा अन्य जीवहरुलाई असर पारिरहेकाे हुन्छ। प्राकृतिक परिवर्तन सधैँ चलिरहने प्रकृया हो। कुनै प्राकृतिक प्रकोपहरुको भविष्यवानी गर्न सकिदैन। तर सचेतना अपनाउन सकिन्छ। प्राकृतिक विपदको जोखिम थाहा पाउँदा पनि मानिसले सचेतनाअपनाएकाे देखिदैन। उल्टै मानिसले प्राकृतिक स्रोत र साधनहरुको स्वतन्त्रता हरण गर्दछ।

प्राकृतिक प्रकोप विभिन्न प्रकारले घट्ने गर्दछन्। जसमा मौसम वा वायुमण्डलमा परिवर्तन, जल परिवर्तन, भू–भौतिक परिवर्तन र जैविक परिवर्तन जस्तासमस्याहरु मुख्य रुपमा देखा पर्दछन्। प्रकृतिले अनेक कुरा सिकाउदा पनि मानिसले आफूलाई नै ठूलो ठान्दछ। प्रकृतिले दिएका संरचनामा अनुकुलन वातावरण मिलाएर विकासक्रम बढाएमा मात्रै पनि प्राकृतिक प्रकोपको क्षति कम हुन जान्छ।

इतिहास दोहोरिदैन तर यहाँ इतिहास दोहोराइन्छ। मानिसले प्राकृतिक संरचनामा पर्ने असरकाे ख्याल गर्दैन। मानिसले प्राकृतिक प्रकोपलाई सामान्य रुपमा हेरेको देखिन्छ। बाढी, पहिरो, भूकम्प, महामारी, ज्वालामुखी, आँधीबेहरी जस्ता प्राकृतिक प्रकोपहरु मानिसले भाेगिरहेका छन्। प्राकृतिक प्रकोप आएर जान्छन्। तर मानिसले ती प्रकाेपबाट कहिल्यै कुनै पाठ सिकेको देखिदैन। प्रकोप हुँदा अनेक योजना बुन्ने र प्रकोप सकिनसाथ योजना मेटाउने मानिसमा प्रवृत्ति बनेको छ।

नेपालमा प्रकृतिक प्रकोपको कति जाेखिम छ ?

प्रत्येक वर्ष नेपालमा प्राकृतिक प्रकोपको विपदबाट ठूलाे धनजनको क्षति भएकै हुन्छ। विशेष गरेर नेपालमा मनसुन अवधिमा प्रकृतिक प्रकोप बढी घट्ने गर्दछन्। यहाँका स्रोत साधनमा ठूलो समस्या देखा परिरहन्छ। नेपालमा भाैगाेलिक विविधता छ। जहाँ प्राकृतिक प्रकोपले भौगोलिक स्वरुपअनुसार क्षति गर्छ। हिमाल र पहाडमा बाढी र पहिरोको उच्च जाेददम हुन्छ भने तराइमा डुवानको समस्या हुन्छ। साथै भूकम्प, चट्याङ, हावाहुरी र मौसमी हावाजस्ता समस्याहरु पनि देखा पर्दछन्। नेपालमा पछिल्लो समयमा प्राकृतिक प्रकोपका घटनाहरु बढिरहेका छन्।

मानवीय विकासक्रमले नेपाल जस्तो सौन्दर्य देश प्राकृतिक प्रकोपमा विलिन हुँदैछ। कहीँ पुरै गाउँ जोखिममा छ त, कहीँ पुरै सहर जोखिममा छ। प्रकृति प्रतिकुलन विकास बढ्दै गर्दा भविष्यमा अझै प्राकृतिक प्रकोपबाट हुने घटनाको सम्भावना नेपालमा देखिन्छ। जसले नेपालमा ठूलो क्षति गर्न सक्दछ।

यहाँ सबै जीवका स्वतन्त्रता प्रकृतिसँग बाँधिएकाे छ। प्रकृति पनि कसैको स्वतन्त्रतामा बाँधिएको छ। मानिसले आफ्नो स्वतन्त्रताको लागि अन्य जीव र प्रकृतिलाई हस्तक्षेप गर्दै अघि बढेको छ। हरेक क्रियाकलापमा मानिस स्वतन्त्रता चाहान्छ। जब मानिस कुनै क्रियाकलापमा चुक्छ, पछुताउनेबाहेक अन्य विकल्प खोज्दैन।

प्रकाशित मिति: : 2021-07-10 17:35:00

प्रतिकृया दिनुहोस्