बिहे

Breaknlinks
Breaknlinks

सक्दिनँ उभिन त्यसरी 
जसरी आजसम्म लाखौं मानिसहरु 
उभिएर बसे चुपचाप
अदालत वरपर समाजको 

अहँ सक्दिन म दबाएर पीडा 
हास्न कृत्रिम हाँसो अरुका लागि
न त औपचारिकतामा बाधिनँ सक्छु 
विनम्रताको कतै

अहँ सक्दिन म उभिन त्यहीँ पंक्ति
जहाँ उहीँ ढर्रा, उहीँ स्वाङ रचिन्छ बारम्बार र
राख्नुपर्छ आफैलाई साँघुरो बन्धनमा 
पुरानो सभ्यताको

अहँ सक्दिन म उभिन त्यसरी 
जसरी आजसम्म लाखौं मानिसहरु उभिए 
चुपचाप र बसे विवश शान्त शालिन मुद्रामा 
हाँस्दै फिस्स जबर्जस्तीको हाँसो ।

अहँ पर्दैन पखाल्न मेरा पापहरु 
तिम्रा चोखा पानीका थोपाहरुले
हुन्नन् मेरा खुट्टाहरु पनि पवित्र 
तिम्रा खडकुलाका आहालहरुमा डुबाएरपनि 

मर्दैनन् मेरा पापहरु छर्कदैमा 
तिल, जौ र कुशका अभिषेकहरुले।
अहँ सक्दिन म मेरा खुट्टाहरु घन्टौसम्म 
कसैको नियन्त्रणमा बुझाउन
न त सक्छु मेरा कठोर हात खुट्टाहरु एकैछिन 
तिम्रा कोमल हातका स्पर्शहरुमा समर्पण गर्न नै ।

अहँ सक्दिन म उभिन त्यसरी 
जसरी आजसम्म लाखौं मानिसहरु 
उभिए बसे चुपचाप चुपचाप शान्त शालिन 
अहँ सक्दिन म उभिन त्यसरी।

मिलाएर कपालको बिन्यास
सजाएर जीउभरी कपडा 
टल्काएर बजारको महँगो जुत्ता 
अहँ सक्दिन म गलामा झुन्ड्याउन सुनको सिक्री र 
बन्न सक्दिनँ म सामन्त समाजको साक्षी 
मुख्याच्या अर्को।

मलाई सहनै गाह्रो पर्छ कसैको अभाव खोसेर
निधारमा टास्न रातो टीका
म सक्दिनँ कसैको निन्द्रा ब्युझने गरी
बजाउन सस्कृतिको बाजा
नचाउदिन गाउँ नै बेसुरमा आधा रातसम्म 
अनिदा आखाहरुका खोस्न सक्दिनँ प्रीय निन्द्रा
मलाई त म जागेर अरुहरु निदाएको खुब मनपर्छ 

सक्दिनँ म म ब्युझिएर मसँगै अरुहरुलाई ब्युँझ्याउन 
आधा रातहरुसम्म त्यसरी
जसरी आजसम्म लाखौं मानिसहरु 
उभिए र बसे चुपचाप बनेर रमिते कसैको।

कसैको नजरमा बारम्बार पर्दै हट्दै छेलिदै 
नियालिदै अहँ सक्दिन म पर्न निशानामा एकछिन कसैको।

ए ! मानिसहरु हो ! यो समाज हेर्ने देख्ने सुन्ने र
बोल्नेहरुको मात्र रहेछ 
बुझ्ने र सोच्नेहरुको भिड भए पो लिएर 
आउनु जन्तीहरुको हुल
अहँ मेरा लागि पक्ष बनाएर एकैछिन 
ल्याउन सक्दिन म यी मानिसहरुको भिड 
अहँ गर्न सक्दिन म आफैलाई मारेर 
दुनियाँलाई देखाउने बिहे
अहँ गर्न सक्दिन म आफू रोएर सारालाई हसाउने बिहे।

ओ ! समाज सक्छस् भने मैले मेरो बन्ने जीवन साथीलाई 
माटोको सिन्दुर लगाइदिएकै बेला
शुभकामना दिन
लिएर आइज दुई थुङा फुल स्नेहको
बाडेर जा खुसी जीवनभर आनन्दको 
छाडेर जा आशिर्वाद सम्पन्नताको 
र भनिदे सबैलाई बिहे 
आफ्ना लागि गर्ने हो
अरुका लागि होइन भनेर।

प्रकाशित मिति: : 2021-07-10 12:02:00

प्रतिकृया दिनुहोस्