रूसमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २५ हजार पुग्यो

Symbolic photo
Symbolic photo

रूसमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रूसी संघीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ। 

रूसमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएसँगै अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५७ लाख सात हजार ४५२ पुगेको बताइएको छ।

केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'रूसको कोभिड–१९ प्रभावित ८५ क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या २४ हजार ८१८ पाइएको छ। यी सङ्क्रमितमध्ये दुई हजार ९५४ अर्थात् ११.९ प्रतिशत सङ्क्रमितमा कुनै पनि लक्षण फेला नपरेको पाइएको छ।' 

केन्द्रका अनुसार सङ्क्रमित दर ०.४४ प्रतिशतले कम भएको छ। बिहीबार मस्कोमा छ हजार ४० व्यक्ति सङ्क्रमित भएका छन्। राजधानी मस्कोपछि रूसको बढी घना बस्ती रहेको सेन्ट पिटर्सबर्गमा पछिल्लो २४ घण्टामा एक हजार ९३७ सङ्क्रमित भेटिएका छन्। 

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ७३४ व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ। अहिलेसम्म कोभिडका कारण रूसमा एक लाख ४० हजार ७७५ व्यक्तिको मृत्यु भएको छ। 

उक्त समयमा कोभिड–१९ सङ्क्रमित २१ हजार ३३६ विरामी कोरोनाभाइरसमुक्त भएका छन्। यससँगै रूसमा कोभिड भई निको हुनेको सङ्ख्या ५१ लाख ४३ हजार २२५ पुगेको छ। एएन्आई

प्रकाशित मिति: : 2021-07-08 19:00:00

प्रतिकृया दिनुहोस्