कृषि र पशुपालनमा कार्की दाजुभाइको ७ करोड लगानी

बिएल संवाददाता

उर्लाबारी  

बैदेशिक रोजगारमा डेढ दशक पसिना बगाएर स्वदेश फर्किएका कार्की दाजुभाइले मोरङको रतुवामाई–८ झुनावारीमा ७ करोड २५ लाख रुपियाँ लगानी गरी बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन्।

झुनाबारीको दुई बाली धान फल्ने ९ विगाहा खेत प्रति विगाहा ४२ लाख रुपैयाँका दरले खरिद गरेर उनीहरूले सोही जग्गामा कृषि तथा पशुपालन उद्यम सुरु गरेका हुन।

अहिले १ हजार बङ्गुर, ६ सय बोयर बाख्रा, ४ सय टर्की, २ सय स्थानीय कुखुरा ,६ सय कडकनाथ पाल्न सकिने गरी अलग अलग बिशाल गोठ निर्माण भइरहेका छन्।

गत वर्ष काम सुरु गरेपछि देशमा सुरु भएको बन्दाबन्दीले उनीहरूलाई ६ महिना पछि थकेल्यो। बङ्गुरका पाठा गोठमा हाल्न ढिलो भयो। यतिबेलासम्ममा पाठा पाठी उत्पादन गरेर बजार पठाउने लक्ष्य थियो। तर, गोठको संरचना बनाउन बन्दाबन्दीले पाइएन भने पाठापाठी सप्लायर्सले पाठापाठी पनि दिन सकेन।

सञ्चालक शैलेन्द्र कार्कीले भने–अष्ट्रेलिया र साउथ अफ्रिकाबाट शत प्रतिशत बोयर बाख्रा र बोका माग गरेका थियौं। बन्दाबन्दीका कारण सप्लायर्सले ल्याइदिन सकेन। त्यस्तै १ विगाहा जग्गामा दुई वटा माछापोखरी निर्माण गरिएको छ।

पोखरीमा विभिन्न ६ प्रजातिका माछा हालेको सञ्चालक शैलेन्द्र कार्कीले बताए। १० वर्ष भारतमा होटल ब्यवसाय गरेर फर्किएका कार्कीले भने, 'फेरि भारत नफर्किने निर्णय गरें। दाजुभाइ मिलेर कृषि र पशुपालनका क्षेत्रमा रोजगार सिर्जना गर्ने गरी ब्यावसाय थालेका हौं।'

उनका भाइ टेकराज कार्कीले १२ वर्ष न्युजिल्याण्ड बसेर कमाएको सबै पैसा कृषि उद्यममा लगानी गरेका छन्। उनले भने– ३ वर्ष भित्र १२ करोड लगानी पु¥याउने र वार्षिक १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ। टेकराज र शैलेन्द्रसँगै साइला भाइ सुमन कार्कीले पनि कृषि र पशुपालनबाटै आर्थिक रुपमा समृद्ध बन्ने सपना देखेका छन्।

११ वर्ष दुवई, कतार र मलेशिया बसेपछि उनको बैदेशिक रोजगारको यात्रामा पूर्ण विराम लागेको छ। उनले भने, 'बिदेशमा दैनिक १४ घण्टासम्म काम गरियो। स्वदेशमा त्यति नै समय लगानी गर्दा यहीँ २/४ लाख कमाउन सकिन्छ होला।'

उनले बिदेशमा कमाएको सबै पैसा बहुदेश्यीय कृषि फर्ममा लगानी गरेको बताए। गत वर्षको माघमा फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका कार्की दाजुभाइलाई उनीहरूका मामा राजेन्द्र बुढाथोकीले समेत साझेदारको रुपमा सहयोग गरेका छन्। बुढाथोकी पनि ८ वर्ष साउदीअरवमा पसिना बगाएर घर फर्किएका हुन्।

उनीहरूले बोयर बाख्रा आइहाल्छ भनेर गत वर्ष नै तीन विगाहा जमीनमा सुपर नेपियर जातको घाँस लगाएका छन्। अहिले उनीहरू त्यही घाँस बिक्री गरिरहेका छन्। अढाई लाख रुपियाँका घाँसका बिरुवा बिक्री गरिसकेको सञ्चालक सुमन कार्कीले बताए।

उनीहरूले अहिले सम्म बैंकबाट ऋण लिएका छैनन। शैलेन्द्र कार्कीले भने – बन्दाबन्दीले बाख्रा र बङ्गुर हाल्न ढिलाई भयो। त्यसैले केही घाटा ब्योहोर्नु प-यो। फेरि बन्दाबन्दी सुरु हुँदा उनीहरूलाई पुन काम रोकिएला कि भन्ने चिन्ता छ।

यद्यपि सबै लगानी आफ्नै भएकोले बैंकले पत्र पठाउँला भन्ने डर छैन्। बन्दाबन्दीले काम रोकिएन भने जेठको पहिलो साता बोयर बाख्रा, बङ्गुर र टर्की गोठमा हालिसक्ने शैलेन्द्र सुनाए।

प्रकाशित मिति: : 2021-07-08 14:39:00

प्रतिकृया दिनुहोस्