चामेको बजेट ३४ करोड

जिल्ला सदरमुकामसमेत रहेको हिमाली जिल्ला मनाङ्को चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ३४ करोड ४१ लाख ६१ हजार बराबरको बजेट ल्याएको छ। 

बुधबार आयोजित नवौँ नगरसभामा गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ गुरुङले सङ्घीय, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र गाउँपालिकाको आन्तरिक आम्दानीसहित उक्त बजेट सार्वजानिक गरेका हुन्। 

बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ६ करोड ८२ लाख, वित्तीय समानीकरण अनुदानबाट रु ६ करोड ९८ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट रु ७० लाख, समानीकरण अनुदानबाट रु ४० लाख ६७ हजार, राजस्व बाँडफाँटबाट रु ६ करोड ६१ लाख ५६ हजार, विशेष अनुदानबाट रु नौँ करोड ३१ लाख, अन्यबाट तीन करोड ८८ लाख ५७ हजार र आन्तरिक आयतर्फ रु २६ लाख ४२ हजार आम्दानी हुने अपेक्षा गरिएको छ। 

उपाध्यक्ष गुरुङले बाढीपहिरोबाट विस्थापित भएका बस्तीलाई संरक्षण गर्ने पहिलो प्राथमिकता दिइएको बताए। त्यस्तै गाउँभित्रका बाढीपहिरोबाट क्षतिग्रस्त भएको विद्युतीय क्षेत्र, खानेपानी, सामुदायिक विद्यालयसहित  विकासका पूर्वाधार सुधारलायतका कार्यक्रम समेटिएको छ। 

सो गाउँसभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष लोकेन्द्र वहादुर घलेले गरेका थिए। असार १ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले चामेको दश घरमा पूर्ण र २० घरमा आंशिकरुपमा क्षति पुर्याएको छ। 

लघु जलविद्युत् र खानेपानीमा समेत पूर्णरुपमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। देशभरका अधिकांश स्थानीय तहले असार १० गतेभित्र नै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थिए। रासस 

प्रकाशित मिति: : 2021-07-07 19:01:00

प्रतिकृया दिनुहोस्