वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताएका छन्।
मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उनले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिए।
मुख्यमन्त्री पौडेलले विरोधीले जतिनै विरोध गरे पनि सरकार विकास यात्रामा अविराम अगाडि बढ्ने बताए।
मुख्यमन्त्री पौडेलले प्रदेशको हरेक क्षेत्रको विकास गरेको दाबी गर्दै मकवानपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक काम गरिएको उल्लेख गरे।
जिल्लामा अन्तर्राष्ट्रिय रङ्गशाला, बहुप्रविधिक विद्यालय, विशाल कृषि थोक बजार, पाउडर दूध उद्योग, पशु आहारा उद्योगजस्ता दूरगामी प्रभाव पार्ने योजना सञ्चालनमा ल्याएको उनले बताए।
यस अवधिमा हेटौँडा अस्पताल सुविधा सम्पन्न हुँदै ५० बाट ३०० श्ययामा परिणत भएको र केही समयभित्रै ५०० श्ययाको अस्पतालको रुपमा सञ्चालन हुने जानकारी दिए।
चिकित्सा क्षेत्रमा भविष्य बनाउन चाहने जिल्लाका विद्यार्थीले जिल्लाभित्रै अध्ययन गर्ने व्यवस्था गरिएको पौडेलले बताए। मुख्यमन्त्री पौडेलले खेलकूद, स्वास्थ्य र शिक्षाको क्षेत्रमा परिवर्तनकारी योजना कार्यान्वयनका क्रममा रहेको जानकारी दिए।
बागमती प्रदेशलाई सडक सञ्जालले जोड्ने र सडक पक्की र स्थायी बनाउनेतर्फ सरकार लागेको उनको भनाइ थियो। रासस