बङ्गलादेशकी प्रधानमन्त्रीले मोदीलाई पठाइन् २६ सय किलो आँप

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई उपहार स्वरुप आँप पठाएकी छन्।

प्रधानमन्त्री मोदी र मुख्यमन्त्री बनर्जीलाई समकक्षी हसिनाले पठाएको २६ सय किलोग्राम आँप भारत–बङ्गलादेश बेनापोल चेक पोस्ट हुँदै आएको भारतीय अधिकारीहरूले बताएका छन्।

आँप दुई देशबीचको मित्रताको निशानी भएको बेनपोल गोदाम घरका कार्यकारी प्रमुख अनुपम चकमाले बङ्गलादेशका सञ्चारमाध्यमलाई बताएका छन्।

बङ्गलादेशबाट आएको आँप कोलकतास्थित बङ्गलादेशको उप–उच्चायुक्त प्रथम सचिव मोहम्मद समिउल कादरले प्राप्त गरेका छन्। कोलकता आइपुगेको आँप प्रधानमन्त्री मोदीका लागि नयाँ दिल्ली र मुख्यमन्त्री बनर्जीलाई पठाइसकेको छ।

सीमा शूल्कको औपचारिकता पूरा गरेपछि बङ्गलादेशी ट्रकमार्फत् २६० कार्टून आँप आइतबार दिउँसो भारत आइपुगेको बताइएको छ। बेनापोल नगरपालिकाका मेयर अशरफूल आलम लिटलसहित बङ्गलादेशका वरिष्ठ अधिकारीहरूको सहभागीतामा आँपको ट्रक भारत पठाइएको थियो।

प्रधानमन्त्री हसिनाको योजनाअनुसार भारतीय पूर्वोत्तर राज्यहरू असम, मेघालय, मिजोरम र त्रिपूराका मुख्यमन्त्रीलाई पनि आँप पठाइदै छ। बङ्गलादेशको आँप-कूटनीतिलाई दक्षिण एसियाली देशहरूमा विभिन्न कोणले चर्चा गर्न थालिएको छ।

प्रकाशित मिति: : 2021-07-05 07:53:00

प्रतिकृया दिनुहोस्