डाँडाघरे दाइले देख्छ एउटा छुट्टै संसार,
जहाँ सबथाेक सन्तुलनमा छ।
एउटा सु-संगठित समाज छ,
जहाँ वर्ण कालो-गोरो भए पनि नियत सफा छ,
जहाँ मान्छे होचा-अग्ला छन् तर सोच एउटै छ,
जहाँ शारिरीक अपांगता भए पनि मस्तिष्कहरू स्वस्थ छन्,
जहाँ भगवानको प्रतिमा बनाउनेहरुलाई सजिलै प्राथना गर्न दिइन्छ,
जहाँ नारीहरू सुरक्षित छन्,
जहाँ बुढेसकालमा आमा-बुबाले निस्वार्थ सन्तानको माया पाउँछन्,
डाँडाघरे दाइले देख्छ एउटा त्यस्ताे संसार-
जो कमजाेर छ, उसलाई अवसरहरुले चिन्ने ठाउँ,
छुवाछुत र विभेदकाे खिया नलागेकाे ठाउँ,
समानताले अंगालेको ठाउँ,
न्यायका पुतलीहरू उड्ने ठाउँ,
जेन्डर् इवालिटीको निम्ति लड्नेहरुले गर्व गर्ने ठाउँ,
लिङ्ग र वर्ग छुट्याउने शासक नभएकाे ठाउँ,
धनी र गरिब सँगै हिड्ने बाटाे भएकाे ठाउँ,
हिंसा-आन्दाेलनका नारा र जुलुस नभएकाे ठाउँ,
छाेराछाेरी बराबर भएकाे ठाउँ,
डाँडाघरे दाइले देख्छ एउटा छुट्टै संसार,
जहाँ सबथाेक सन्तुलनमा छ।
यस्ताे संसारकाे परिकल्पना गर्ने
डाँडाघरे दाइलाई
सबैले पागल ठानिरहन्छन्।
अचेल मलाई पनि थाहा हुँदैछ-
त्यो ठाउँ जानकाे लागि कल्पनाको जहाज चढ्नुपर्छ,
र त्यो ठाउँलाई यूटोपिया भन्छन्।
कसाे-कसाे प्रश्नले बिझाइरहन्छ मलाई पनि-
यस्ताे समाजको कल्पना गर्न
हामी कहिलेसम्म यूटोपियाको शिकार हुनुपर्ने ?
डाँडाघरे दाइलाई पागल ठानेर
कतै हामी नै पाे पागल बनिरहेका त छैनाै ?
आखिर पागल को हो?