उत्तराखण्डको मुख्यमन्त्री बन्दै कुमाऊँका पुष्कर धामी

भारतीय जनता पार्टी (भाजपा)का प्रदेश उपाध्यक्ष पुष्कर सिंह धामी उत्तराखण्ड राज्यको नयाँ मुख्यमन्त्रीमा चयन भएका छन्।

राजधानी देहरादुनमा शनिबार सम्पन्न भाजपा विधायक मण्डलको बैठकले कुमाऊँस्थित खटी क्षेत्रका सांसद धामीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

शुक्रबार मुख्यमन्त्री तीरथ सिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि धामीलाई पहिलोपल्ट मुख्यमन्त्री बन्ने बाटो खुलेको भाजपाले प्रेस सम्मेलनमार्फत् जानकारी दिएको छ।

धामी रक्षामन्त्री राजनाथ सिंहनिकट मानिन्छन्। उनले पूर्व मुख्यमन्त्री भगत सिंह कोश्यारीको सल्लाहकार भएर काम गरिसकेका छन्।

भाजपा प्रदेश उपाध्यक्ष धामी मुख्यमन्त्री बन्ने निर्णयसँगै कुमाऊँबासीमा खुसीयाली छाएको छ। उनी उत्तराखण्डको ११औँ मुख्यमन्त्री बन्र लागेका हुन्।

मुख्यमन्त्रीका लागि पूर्व मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत, रमेश पोखरेलको चर्चा भएतापनि धामीले एकाएक बाजी मारेका छन्।



२१ वर्षमा १० मुख्यमन्त्री, रावतले दिए ४ महिनामै राजीनामा

भारतको उत्तराखण्डले सन् २००० नोभेम्बर ताका नयाँ राज्यको रुपमा मान्यता पाएको थियो। नित्यानन्द स्वामी उत्तराखण्डको संस्थापक मुख्यमन्त्री हुन्। उनले ३५४ दिन राज्यको नेतृत्व गरे।

स्वामीपछि उत्तराखण्डको नयाँ मुख्यमन्त्री भाजपा नेता भगतसिंह कोश्यारी बने। हाल महाराष्ट्र राज्यपाल रहेका उनले १२२ दिन मात्रै मुख्यमन्त्रीको रुपमा काम गरे।

सन् २००२ मा सम्पन्न पहिलो विधानसभाबाट राज्यको नेतृत्व भारतीय कांग्रेसले गर्ने मौका पाएको थियो। श्रमजीवि नेता नारायण दत्त तिवारी मुख्यमन्त्रीको रुपमा निर्वाचित भएका थिए। उनी उत्तराखण्डको इतिहासमा सबैभन्दा भाग्यशाली मुख्यमन्त्री हुन्, जसले मुख्यमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गरे।

उत्तराखण्डमा उनीबाहेक कसैले पनि अहिलेसम्म पाँच वर्षे कार्यकाल पूरा गर्ने अवसर पाएका छैनन्। तिवारी सन् २००२ मार्च २ देखि सन् २००७ मार्च ७ सम्म मुख्यमन्त्री रहे।

सन् २००७ मा राज्यको दोस्रो विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले भारी मतले जित्यो। भाजपा नेता भुवन चन्द्र खण्डूरी उत्तराखण्डको नयाँ मुख्यमन्त्री बने। उनले पनि आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न पाएनन्।

खण्डूरीले २ वर्षसम्म राज्यको नेतृत्व गर्ने अवसर पाए। लगतै भापजाकै नेता रमेश पोखरेल नयाँ मुख्यमन्त्रीमा निर्वाचित भएका थिए। पोखरेल सन् २००९ जून २७ देखि सन् २०११ अन्तिमसम्म मात्रै मुख्यमन्त्री बने।

विधानसभाको आखिरी निर्वाचनमा पोखरेल मुख्यमन्त्रीबाट हटाइए र पुनः मुख्यमन्त्रीमा दोस्रोपल्ट खण्डूरी नै निर्वाचित भए। उनी दोस्रो कार्यकालमा १८४ दिन मुख्मन्त्री रहे।

तेस्रो विधानसभा गठनपछि कांग्रेसको नेतृत्व गर्दै विजय बहुगुणले उत्तराखण्डको मुख्यमन्त्री पद सम्हाले। कांग्रेसको आन्तरिक राजनीतिक किचलोका कारण साढे एक वर्षमै विजयले पदबाट राजीनामा दिनुपर्‍यो।

उनीपछि कांग्रेस नेता हरिश रावत मुख्यमन्त्रीमा निर्वाचित भएका थिए। हरिश राजनीतिक हलचलकै बीच विधानसभाको एकै कार्यकालमा तीनपटक मुख्यन्त्री बने। उनले सबैभन्दा पहिला सन् २०१४ फेब्रुअरी १ मा मुख्यमन्त्री पदको सपथ लिएका थिए।

सन् २०१६ मार्च २७ मा उत्तराखण्डले राष्ट्रपति शासनको सामना गर्नुपर्‍यो। लगतै उच्च अदालतले २५ दिनमै राष्ट्रपति शासन इन्कार गर्‍यो। उनै रावतले फेरी एकदिनका लागि सन् अप्रिल २१ मा मुख्यमन्त्रीको सपथ लिए।

पुनः राज्यमा १९ दिन राष्ट्रपति शासन कायम भयो। यसपल्ट पनि अदालतले राजनीतिक निकास दियो र रावतले मे ११ मा मुख्यमन्त्रीको पद सम्हाले। उनी सन् २०१७ को मार्चसम्म पदमा रहे।

उत्तराखण्डको चौथौ विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले जित्यो। भाजपा नेता त्रिवेन्द्र सिंह रावत सन् २०१७ मार्च १८ मा मुख्यमन्त्री बने। यसवर्षको बजेट सत्रको बीचमै गत मार्चमा पार्टीको दवाबका कारण त्रिवेन्द्रले पदबाट राजीनामा दिए र तीरथ मुख्यमन्त्री बने।

उनी सबैभन्दा छोटो कार्यकाल १४४ दिनका लागि मुख्यमन्त्री बनेका छन्। यसपल्ट भने उनले संवैधानिक संकटका कारण पद त्याग्नु परेको हो।

भारतीय जनता पार्टी विधयक दलको बैठकले शिर्ष नेता चयन गर्नेछ। नयाँ मुख्यमन्त्रीका लागि यतिबेला पूर्वमुख्यमन्त्री रमेश पोखरेल र राज्यका पर्यटनमन्त्री सतपाल महाराजको चर्चा शुरु भएको छ।

 

प्रकाशित मिति: : 2021-07-03 19:02:00

प्रतिकृया दिनुहोस्