सबै जनाले जितेन्द्रलाई गुहारे। उनले भने, ‘पर्ख, शान्त र एकान्तका लागि म तल बगैैँचामा जान्छु, हेरौँ के गर्न सक्छु।’ त्यसपछि उनी लोयड्स बोटानिकल गार्डेनमा गए जुन विश्वकर्मा समाजबाट थोरै तल्तिर पर्थ्याे। हामीहरू सास रोकेर उनलाई कुरिबस्यौँ। उनले एउटा गीत लिएर आए जसको मुखडा यस्तो थियो : ‘यहाँ फूल नखिली छ, बहार आउन नै भुलेछ’।
साल : सन् १९८६। अवसर : दशैंको अन्तिम दिन, जाडो आउनुअघिको चिसो वेला। ठाउँ : दार्जीलिङको चोकबजार। समय : रातको ९ बजे। पात्र: जितेन्द्र बर्देवा, त्यतिखेर लोक मनोरञ्जन शाखाको सङ्गीत विभाग प्रमुख। त्यस पदमा अम्बर गुरुङका उत्तराधिकारी। जितेन्द्रसँग थिए देवप्रकाश राई, दार्जीलिङको अखिल भारत गोर्खा लिगका आजीवन नेता तथा सन् १९५७ देखि पश्चिम बङ्गालको कलकत्तास्थित विधानसभामा दार्जीलिङबाट निर्वाचित विधायक।
देवप्रकाशले आफ्नो ओभरकोटमा बिहाइभ ब्रान्डी घुसारेका थिए। जितेन्द्रले चाहिँ आफ्नो ओभरकोटमा जिउँदो कुखुराको कौडे भाले बोकेका थिए। आश्चर्य माने झैँ गरी एकअर्कालाई ‘अरे, हौ’ र ‘हल्लो’ भन्दै अनि मातेको सुरमा अभिवादन गर्दै उनीहरू पुरानो हुलाक कार्यालयको सिँढीमा बसे अनि पिउन थाले। कुखुराको भाले जितेन्द्रको ओभरकोटबाट फुत्कियो र दोरंगा बजारमा रहेको दर्जीहरूको पसलतिर गायब भयो।
त्यसको केही वर्षभित्र दुवै जना बिते रक्सीमा चुर्लुम्म डुबेर।
राजनीतिकर्मी देवप्रकाश राईको कथा बेग्लै छ, यो चाहिँ बहुमुखी प्रतिभाका धनी सङ्गीत सर्जक जितेन्द्र बर्देवाको कथा हो।