मौरीको संगत गरे फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ। झिँगाको संगत गरे फोहोरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ। मौरी बन्ने प्रयत्नमा रानो मौरीकै संगत गर्ने अवसर पाएछु, शेक्सपियरको शहरमा।
धीत मरुन्जेल कार्डिफ शहरको फन्को मारियो। बेलायतका चार राज्यमध्ये एक वेल्सको राजधानीमा हाम्रो भ्रमणलाई व्यवस्थित गर्न मिजास तेम्बे, नरेश नाती र नरेश काङमाङको क्रियाशीलता स्मरणीय थियो। मित्रहरूको परिपक्व व्यवस्थापनमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, राजन मुकारुङ र नामओती नेम्वाङका साथ मैले पनि कार्डिफ शहरको फन्को लगाएँ, ७ अक्टोबर, २०१५ मा।
कार्डिफ शहरको फन्को मारिरहेको वेला फोन बज्यो, ‘दाइ, क्षमा पाऊँ। अहिले जागीरको सिलसिलामा अलि टाढा छु। तपाईंसँग भेट गर्ने इच्छा छ। समय पनि कस्तो भने म दौडेर तत्काल तपाईं भएको ठाउँसम्म पनि आउन नपाउने भएँ।’
कवि मित्र भरु पल (भरतमणि चोङवाङ) टाढा स्कटल्यान्डबाट बोलिरहनुभएको थियो। भरतजी, विमला र भान्जाभान्जीलाई भेट्ने मेरो पनि मन थियो। तर, समय, परिस्थिति र दूरी प्रतिकूल थियो। त्यसैले हामी दुवैले मन बुझाउनुको विकल्प थिएन र भनेँ, ‘चिन्ता नलिनुस् भरतजी, समयले साथ दियो भने फेरि भेटौँला नि!’
कार्डिफ शहरको फन्को लगाएर हामी ब्रेकन फर्किरहेका थियौं। एकछिन एक ठाउँमा बिसौनी पर्यो। त्यहाँबाट मिजासजीले एउटा चुचुरोलाई देखाउँदै भन्नुभयो, ‘भोलि हामी यहाँ चढ्नेछौं।’