युद्ध इतिहासको विवरण राख्नेबारे भारतीय रक्षामन्त्रीद्धारा नयाँ नीति अनुमोदन

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo PTI
File Photo PTI

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको युद्ध इतिहास तथा सैन्य कारबाहीहरूको रेकर्ड समयबद्ध राख्न नयाँ नीति अनुमोदन गरेका छन्।

सैन्य तथा रक्षा इतिहासको विवरणलाई समयबद्ध रेकर्ड राख्नेबारे रक्षामन्त्री सिंहले नयाँ नीति अनुमोदन गरेका हुन्। यो नीतिले भारतको सैन्य तथा रक्षा इतिहासमा तथ्य घटना, रिसर्चका लागि प्रामाणिक तथ्य सामाग्रीहरु प्रदान गर्ने र भ्रम अफवाहको प्रतिरोध गर्ने रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

युद्ध तथा सैन्य कारबाहीहरुको अभिलेख, वर्गीकरण तथा संकलन को यो नीतिले रक्षा मन्त्रालयमा संयुक्त सचिवको अध्यक्षतामा समिति गठन गर्न अनुमोदन गर्दछ। उक्त समितिमा सशस्त्र बलका प्रतिनीधि, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र आवश्यक परे प्रमुख सैन्य इतिहासकारहरु रहने व्याबस्था गरेको छ।

विभिन्न युद्ध तथा घटनाका बिषयमा भारतीय सेनाले असहज तथा विवादास्पद प्रश्न सामना गर्नुपरेको परिस्थितिमा रक्षा मन्त्रालयको यो कदम र नीति अत्यन्त महत्वपूर्ण मानिएको छ।

सन् १९७१ मा भएको भारत पाकिस्तान युद्धमा एक भारतीय युद्धपोत डुबेको तथा सन् १९९९को कार्गिल युद्ध जस्ता विज्ञहरुले लेखेका विवादास्पद विवरणहरुबारे सेनाले असहज प्रश्नहरु सामना गर्नुपरेको छ।

यो नीतिले सन् १९६२ मा भारत चीन बीच भएको युद्धमा भारतको पराजयको कारणहरुबारे लेखिएको हेन्डरसन ब्रुक्स भगत रिपोर्टलाई वर्गीकरण गर्ने वा नगर्ने बारे भने स्पष्ट छैन।

समितिले पहिलेका युद्ध तथा सैन्य कारबाहीहरुको समिक्षा गर्ने एक अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताएका छन्। 

प्रकाशित मिति: : 2021-06-29 11:09:00

प्रतिकृया दिनुहोस्