तेस्रो 'गुरिल्ला अल्ट्रा ट्रेल रेस' म्याराथन प्रतियोगिता असार २२ गते

बिएल संवाददाता

रुकुमपूर्व

लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा असार २२ गते तेस्रो 'गुरिल्ला अल्ट्रा ट्रेल रेस' म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ। 

भूमे गाउँपालिका, रुकुम (पुर्व)को सहयोगमा भूमे युवा विकास केन्द्रले तेस्रो 'गुरिल्ला अल्ट्रा ट्रेल रेस' म्याराथन आयोजना गर्न लागिएको हो।

युद्व पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालिन ‘जनयुद्ध’को ऐतिहासिकतालाई प्रचारप्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएकाे हाे।

तत्कालिन माओवादीले गरेको १० बर्ष सशस्त्र युद्धताका छापामार (गुरिल्ला) हिँडेको गोरेटो  रोल्पा, रुकुम, बाग्लुङ र म्याग्दि जिल्ला समेटर केहि बर्ष अगाडि सरकारले 'गुरिल्ला पदमामार्ग'को रुपमा प्रवर्धन गरेको थियो।

यही मार्ग अन्तर्गत रुकुम(पूर्व) भूमे गाउँपालिकाको महतबाट, लावा, हुलबाङ हुँदै रोल्पाको गलचोल, जलजला, थवाङ पुगेर भूमेको मारिङबाट महतमा टुंगिने गुरिल्ला अल्ट्रा माराथनका अभियन्ता सुनिल रोकामगरले बताएका छन्।

५२ किलोमिटर लामो दुरीको गुरिल्ला ट्रेल म्याराथनमा पुरुष तथा महिलाले भाग लिनेछ।

भूमे गाउँपालिकाका अध्यक्ष राम सुर बुढामगरले पर्यटनको विकासमा विभिन्न पर्यटन गतिविधिका साथै खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग गर्दै आएकोमा गुरिल्ला ट्रेल रेस सहासिक खेल पर्यटन पनि भएको बताएका छन। 

'विगतका केही वर्षदेखि निरन्तर सञ्चालन गरेको म्याराथन दाैडले दुई जिल्लाको सम्बन्ध प्रगाढ बनाउने र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने छ।' अध्यक्ष बुढागमरले भने। 

यसवर्ष गुरिल्ला म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरुले सहभागिता जनाउने संयोजक रोकामगरको भनाई छ। कोरोना महामारीको संक्रमणलाई मध्य नजर गर्दै उच्च स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापण्डहरुको पालना गरिने आयोजकले जानकारी गराएकाे छ। 

माराथन प्रतियोगितामा दुवै महिला तथा पुरुष तर्फका विजेताले नगद रू. ७५ हजार, उप-विजेताले रू. ५० हजार तथा तृतियलाई  रू. ३० हजार र शान्त्वनालाइ रू. १५ हजार पुरस्कार प्रदान गरिनेछ। 

दोस्रो 'गुरिल्ला ट्रेल २०७६' म्याराथनमा रामेछाप, धादिङ, रसुवा, लमजुङ, ओखलढुंगा, भोजपुर, अछाम, प्युठान, रूकुम (पश्चिम) र रूकुम (पूर्व) ४८ जना धावक-धाविकाले भाग लिएका थिए।

उक्त म्याराथन दाैडमा पुरूषतर्फ मुसीकोट नगरपालिका, रूकुम पश्चिमका दुर्गाराज बुढाले ६ घन्टा १५ मिनेट १५ सेकेण्डमा पार गरेर प्रथम भएका थिए। त्यस्तै, सुमान कुलुङले उक्त दुरी ६ घण्टा ५१ मिनेट ४ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरेका थिए, भने रूकुम (पूर्व) सिस्ने गा.पा. का मुहान केसीले दुरी ६ घण्टा ५१ मिनेट ७ सकेण्डमा पार गर्दै तेस्रो भएका थिए।

महिलातर्फ भने ७ घण्टा १८ मिनेट ३५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्युठानकी हुमी बुढा मगरले उपाधि जितेकि थिइन्। धादिङकी रश्मिला तामाङले उक्त दुरी ७ घण्टा २० मिनेट ३८ सेकेण्डमा पुरा गरेर दोस्रो स्थान हासिल गरेकि थिइन्, भने ७  घण्टा २५ मिनेट २९ सकेण्डमा दुरी पार गरेर भोजपुरकी अनिता राई तेस्रो भएकी थिइन्।

२०७५ सालदेखि सुरु भएको ' गुरिल्ला ट्रेल रेस' लगातर २ वर्ष आयोजना भएको थियो, भने २०७७ सालमा कोरोना महामारीका कारण राेकिएकाे प्रतियाेगीता यसवर्ष हुन लागेकाे हाे। 

प्रकाशित मिति: : 2021-06-29 10:02:00

प्रतिकृया दिनुहोस्