धर्म नमान्न मिल्छ, तर मानवता नमान्न मिल्दै मिल्दैन

आयोमेल

काठमाडौँ

उषाकिरण रेग्मी

 

रुपा सुनारले ‘आफू कामीको छोरी हो भनेपछि कोठा नदिइएको’ घटना सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियोमार्फत् सार्वजनिक गरेपछि जातीयता र जातका आधारमा हुँदै आएका विभेदविरुद्ध चौतर्फी बहस भइरहेको छ।

रुपाको त्यो आवाज र सामाजिक सञ्जालमा आएका बहस नियालिरहँदा मेरो मन भने बेचैन भयो। कहिले आफ्नै बाल्यकाल फर्केर हेरेँ त कहिले आफ्नै व्यवहार जाँचेँ। एक बिहान हँसिया पुर्‍याउन हाम्रो घरमा आउनुभएका गोपाल दाइ र कक्षा ७ मा पढ्दाकी मेरी सहपाठी सीता लगुन आँखाभरि आए। बिहान त्यस्तै ९ बजेको हुँदो हो, हाम्रोमा खाना खाने समय हुन लागेको थियो। गोपाल दाइ आँगनको पर्खालमा बस्नुभएको थियो। मैले उहाँलाइ बाहिरै खाना लगिदिएँ। खाना खाइसकेपछि गोपाल दाइले आफूले खाना खाएको थाल, कचौरा सर्लक्क आफैँ माझेर पर्खालमै सुकाउनुभयो। त्यतिबेला ‘गोपाल दाइ कामी हुन्, उनी बाहुनको भान्सामा जानुहुँदैन, त्यसैले उहाँले बाहिरै बसेर खाना खानुपरेको भन्ने मात्र थाहा थियो। तर, त्यो एक विभेदपूर्ण व्यवहार हो’ भन्ने थाहा थिएन।

कक्षा ७ पढ्दासम्म ‘जातीय छुवाछुत एक सामाजिक समस्या हो। हामीले मान्छे-मान्छेबीच छुवाछत गर्नुहुँदैन’ भन्ने चेत ममा सैद्धान्तिकरूपमै भए पनि अलिअलि टुसाएको थियो। त्यही कुरा ध्यानमा राख्दै हामी (उमा बस्नेत, मिनु लामा, विष्णु तामाङ र सावित्री केसी र म) सँगै बसेर खाजा खाइरहेको बखत छेवैमा रहेकी सहपाठी सीता लगुनलाई मैले हाम्रो खाजातिर लक्षित गर्दै ‘तिमी पनि खाऊ न’ भन्दा उनी असजिलो मान्दै नाइँ भन्दै तर्केकी थिइन्। आज सम्झिँदा सीता त्यसरी तर्किनुको कारण सदियौंदेखि व्याप्त छुवाछुत र जातीय विभेदको परिणाम हो भन्ने कुरामा दुईमत छैन। गोपाल दाइ र सीतासँग म यो आलेखमार्फत नै माफी माग्छु। त्यतिबेलै जातीय भेदभाव र छुवाछुतबारे जानेकी हुँदो हुँ त पक्कै उहाँलाईमात्र बाहिर खाना पुर्‍याउने थिइनँ।

 

प्रकाशित मिति: : 2021-06-28 18:20:00

प्रतिकृया दिनुहोस्