बच्चा जन्माउदैमा अभिभावक बनिदैन। बा-आमा चाही बनिन्छ। बा-आमा बन्नु र अभिभावक बन्नु फरक कुरा हो।
सबै बा-आमा अभिभावक नबन्न सक्छन्। अभिभावक त्यो हो जसले छोराछोरीलाई समय दिन्छ, लगानी गर्छ अनि संस्कारमा हुर्कन मद्धत गर्छ।
भनिन्छ, बच्चालाई तपाईले दिने उपहारभन्दा समयको निकै महत्व हुन्छ। धेरैले भनेको सुनिन्छ– बालबालिका राष्ट्रका खम्बा हुन्। कसैले भन्छन–बच्चामा लगानी गर्नुपर्छ। अभिभावक ती बालबालिकाका खम्बा वा लगानीकर्ता मात्र हाेइनन्, उनीहरुका रचयीता पनि हुन्। बच्चालाई कस्तो बनाउने भन्ने कुरा अभिभावकको हातमा हुन्छ। बच्चा सफल र संमृद्ध हुन अभिभावक पनि शिक्षित र सचेत हुनुपर्दछ। शिक्षित भन्नाले यहाँ बिद्यालय वा बिश्वबिद्यालयको औपचारिक डिग्रीको कुरा गरिएको होईन। कम्तिमा पनि शिक्षाको महत्व बुझेको हुनुपर्दछ।
बच्चासँग सबभन्दा नजिक बुबा-आमा हुने गर्दछन्। त्यसैले बच्चाले सबभन्दा पहिले आमा बुबा चिन्ने गर्दछ। जब बच्चा बुझ्ने हुन थाल्छ तब उसले बुझ्दै र महसुस गर्दैं जान्छ उनीहरु बीचको बहुबिचार। बुबाले चुरोट खाएको देख्छ, तास खेलेको देख्छ, रक्सी पिएको देख्छ जुन कुरा आमाले गरेको देख्दैन। र, उसमा 'कन्फ्युज' शुरु हुन्छ, बुबा ठिक की आमा? यति मात्र हाेइन आमाले खाना पकाएको, कपडा धोएको, घर सफा गरेको पनि देख्छ जुन कुरा बुबाले गरेको देख्दैन। उ हुर्कदै जान्छ र यस्तै 'कन्फ्युज'को भुमरीमा फस्दै जान्छ। कुन ठिक कुन बेठिकको 'कन्फ्युज'बाट उसको बिद्यालय शिक्षा आरम्भ हुन्छ। उसले बिद्यार्थीकालभर बुबा र आमाका दुई फरक–फरक बिचार र ब्यबहार देख्दै, सुन्दै र भोग्दै जान्छ। तर, उ सधै अनुत्तरित भईरहन्छ।
जब बच्चाले भनेको मान्दैनन, गृहकार्य गर्दैनन, झगडा गर्न थाल्छन, अल्छी बन्छन, टेर्दैनन् अनि अभिभावकले केटाकेटीका लागि तीन प्रकारले अभिभावकत्व गरिरहेका हुन्छ। सुरुमा सम्झाउने, त्यसपछि थर्काउने अनि हिर्काउने। सम्झाउँदा अर्थात् फकाउँदा नमान्नेलाई थर्काउने। थर्काउदा अर्थात गालि गर्दा नमान्नेलाई हिर्काउने। अधिकांश अभिभावकले पार गरेको अभिभावकत्वको चरण हुन् यी। सम्झाएर, थर्काएर वा हिर्काएर जसरी हुन्छ बालबालिका आफ्नो नियन्त्रणमा आवस् भन्ने अभिभावकको चाहाना हुन्छ नकी बच्चाले किन भनेको मान्दैन, गृहकार्य गर्दैन, झगडा गर्छ, अल्छी बन्छ वा भनेको नमान्नुकाे कारण के हो। हामी कारणमा कहिल्यै प्रवेश गर्न चाहेनौं। केबल परिणाम मात्र हेरिरह्यौ वा त्यसैमा रुमलिन्छाैं। बच्चा छँदा हामीले सिर्जना गरेका यस्तै समस्याको हाम्रा अभिभावकले पनि यसैगरि परिमाणमै रुमलिरहन्थे। हामीले बाउबाजेको पालादेखि भोग्दै आएको दशा बदल्न दिशा बदल्न सकेनौं। अर्थात्, हामीले सिर्जना गरेका समस्या र हाम्रा केटाकेटीले सिर्जना गरेका समस्या उस्तै–उस्तै मानेर चुपचाप रही रह्यौ। जीवन र जगतलाई हामीले लगातार हाेइन हतारको बिषय बनायौं।
सबै अभिभावकको चाहाना मेरो बच्चाले परिक्षामा धेरै नम्बर ल्यावस् भन्ने हुन्छ। विद्या वा ज्ञानको लागि हाेइन 'सर्टीफिकेट'का लागि पढाइरहेका छौं। ए प्लस वा ए ग्रेडका लागि। 'सर्टीफिकेट' शैक्षिक मापनको स्तर मात्रै हो, ज्ञान मापनको स्तर हाेइन। यो संसार किसानले बनाएका छन्। मजदुरले बनाएका छन्। खाली 'सर्टिफिकेट'वालाले मात्रै बनाएको कहाँ हो र। हामीले 'ग्रेटनेस्'मा हाेइन 'गुड मार्कस्'मा विश्वास गर्यौ। नपढेर धनी भईदैन, ठालु भईदैन वा शक्तिशाली भईदैन भन्ने शिक्षा दिऔं। फलतः हाम्रा सन्तानले राम्रो नम्बर त ल्याए तर ब्यक्तिलाई, समाजबाट कटाउने, घमण्डी र अहमकारी बनाउने,अनि समाजबाट छुट्याएर अलग्गै बस्ने बनाई दियो। हामीले ज्ञान हाेइन शिक्षा मात्रै दियौं। हाम्रा केटाकेटी धनी बन्न, ठालु हुन र शक्तिशाली हुनकै लागि मात्रै पढे।
हाम्रा छोराछोरीलाई राम्रो बनाउन खोज्दै गर्दा छिमेकीका छोराछोरी हेर्दै हेरनौ। जो सँग हाम्रा छोराछोरीको दैनिकी बित्छ। हाम्रा छोराछोरीलाई राम्रो संस्कार सिकाउदै गर्दा हामी जतिकै समय बिताउने हाम्रा छिमेकीका छोराछोरीबाट हाम्रा छोराछोरीले के सिकिरहेका छन्, त्यसको हामीले कहिल्यै ख्याल गरेनौै। छिमेकीका छोराछोरी राम्रा भए मात्रै हाम्रा छोराछोरी पनि राम्रा हुनसक्छन।
आमाको गर्भमा रहेका शिशुको पोषणमा गरिने लगानीले उसको शिक्षामा प्रभाव परेको हुन्छ। गर्भावस्थादेखी दुई वर्षसम्म अर्थात् १ हजार दिन बच्चालाई दिईने पोषणले उसको जीवन कता मोड्ने भन्ने निर्धारण हुन्छ। यो समयमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुन्छ भनिन्छ। यो क्रममा आंशिक रुपमा ५ वर्षसम्म कायम रहन्छ, जतिबेला सम्म उसले आमाबाट शिक्षा लिईरहेको हुन्छ। बच्चा जन्मेपछि धेरै कुरा आमाबाट सिकेको हुन्छ। त्यसकारण आमाले गर्ने व्यवहार उसको बालमस्तिष्कले ग्रहण गरिरहेको हुन्छ। बच्चालाई आमाले दिने शिक्षा नै आमा शिक्षा हो। यो शिक्षा बालबालिकाले घरमा र केही समय बालबिकास केन्द्रमा लिने गर्दछन्। त्यसैले बालबिकास केन्द्रहरु बिद्यालयका अन्य कक्षाहरु यस हिसाबले पनि फरक छन् की त्यहाँ बालबालिकाले पढ्ने हाेइन सिक्ने गर्दछन्। शिक्षाको जग बालविकास केन्द्र हो। हेरेर, छामेर वा स्पर्श गरेर अध्ययन गर्ने यस समयमा उनीहरुका लागि समय र पुँजी दुबैको लगानी जरुरी रहन्छ।
पाँच बर्ष पार गरेपछि विद्यालय शिक्षाका लागि तयार हुन्छन। आमा शिक्षा तथा बालविकास कक्षाबाट सिकेका संस्कारका आधारमा विद्यालय शिक्षाका लागि तयार उनीहरु मनोबैज्ञानिक रुपमै शिक्षाका लागि तयार भएपछि मात्रै शिक्षण सिकाई कृयाकलापमा सक्रिय सहभागि हुन सक्छन्।
जसरी शिक्षकले विद्यालयमा पठनपाठन गराउँदा खेल्ने भूमिका महत्वपूर्ण मानिन्छ त्यसरी अभिभावकले उसका छोराछोरीका लागि दिने समय, गर्ने रेखदेख र लगानी उत्तीकै महत्वपूर्ण मानिन्छ। विद्यार्थीहरु विद्यालयमा ६ घण्टा रहन्छन भने उनीहरुको बाँकी १८ घण्टा घरमै बित्ने गर्दछ। घरमा भएको सिकाई बाताबरण उसको जीवको कोषेढुंगा हुने गर्दछ। घरमा औपचारिक शिक्षाका साथै अनौपचारिक शिक्षा पनि बिद्यार्थीहरुले ग्रहण गरिरहेका हुन्छन। हजुरबुबा, हजुरआमाबाट उनीहरुले जीवन अनुभवका गाथा सिकिरहेका हुन्छन, भने आमाबाट घरायसी कामका साथै मातृवात्सल्य।
शिक्षक त सहजकर्ता मात्रै हो। अर्को शब्दमा भन्दा 'मेन्टर'। 'मेन्टर'को काम बाटो देखाई दिने हो, मेहनत त बिद्यार्थी स्वयमले गर्ने हो। विद्यालयमा शिक्षकले सिकाउने भन्दा पनि साथीले साथिलाई सिकाउने शिक्षा प्रभाबकारी मानिन्छ। कक्षा कोठामा उत्कृष्ट साथीले कमजोर साथीहरुलाई सिकाउने पद्धती साथी शिक्षा हो। यस्तो पद्धतीमा शिक्षकको भूमिका कम र बिद्यार्थीको भूमिका बढी रहन्छ।