पहिराले एक घर पूर्ण क्षति, एक घर जोखिममा

फाइल तस्वीर
फाइल तस्वीर

गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण आज ऋषिङ्गगाउँपालिका–६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ।

तरुण दलका वडा संयोजकसमेत रहनुभएका विष्णुबहादुर झेडीको घरमाथि आएको पहिराले पुरिँदा क्षति भएको हो। पहिराले खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा पुरिए पनि कुनै मानवीय क्षति नभएको वडाध्यक्ष भक्तबहादुर आलेले जानकारी दिए।

अविरल वर्षाका कारण वडा नं ७ को साङ्खोल्सीमा झरेको पहिरो सफा गरिएको छ। वडा नं ७ सतिकोटमा पहिरामा कारण भएको सडक अवरोध खुलाइएको छ। उक्त पहिराका कारण एक घर जोखिममा छ।

त्यसैगरी वडा नं ६ गोठादीमा पहिरो झरेर अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ। वडा नं ४ र ६ जोड्ने ढाक्रेखोला पुलमा पहिराले सामान्य क्षति पु-याएको छ।

उक्त पुलमा रहेको पहिरो हटाउने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ। श्रीङ्गपथसँगै दुबुङ्ग सडक खण्डमा दर्जनौँ स्थानमा पहिराका कारण सडक अवरुद्ध भएको बताइएको छ। रासस

प्रकाशित मिति: : 2021-06-26 16:12:00

प्रतिकृया दिनुहोस्