पुरञ्जन आचार्य
२०७४ सालको आमचुनावअघि नै संसद्मा नेपाली कांग्रेसको संख्या सानो हुनेछ भन्ने निश्चित जस्तै थियो। चुनावमा यो हदसम्मको पराजय भोगेपछि कांग्रेस ‘डिप्रेसन’मा जान्छ र बिस्तारै तङ्ग्रिँदै आउँछ भन्ने मेरो विश्लेषण थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण कांग्रेस पराजयको महत्त्वपूर्ण कारण थियो, तर सम्पूर्ण कारण थिएन।
उचाइमा पुग्न कुनै पनि पार्टीलाई स्पष्ट विचार, मजबुत संगठन र सक्षम नेतृत्वको आवश्यकता पर्दछ। तर, कांग्रेससँग यी तीनै आयाम भएन। २०६२/०६३ सालको जनआन्दोलन, नयाँ संविधान जारी र आमनिर्वाचन कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको थियो। तर, उसमा वैचारिक स्पष्टता भएन।
एकथरी गणतन्त्रका पक्षमा थिए, अर्काथरी विरोधमा, संघीयता कांग्रेसको अजेन्डा नै होइन भन्नेहरू पनि थिए। हिन्दू राज्यको माग गर्नेहरू पनि कांग्रेसमै थिए। संगठन अराजनीतिक जस्तो भइसकेको थियो। कतिपय संगठनमा अपराधीहरू पनि छिरिसकेका थिए। त्यसमा पनि सबैभन्दा बढी नेतृत्व नै असफल देखियो। कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न राजनीतिक विचार शून्य भएका, अनुभव पनि नभएकाहरूले सक्ने कुरै थिएन।
पार्टी सभापति कम्युनिष्टले जिते निरंकुशता आउँछ भन्नुहुन्थ्यो, तर त्यो वेला कम्युनिष्टसँगै सत्ता साझेदारी गरिरहनुभएको थियो। उहाँले महन्थ ठाकुरलाई चुनाव जिताउनुभयो, तर ठाकुर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छन्। पुष्पकमल दाहालकी छोरीलाई मेयर बनाउनुभयो। तर, चुनावका वेला दाहालले ओलीसँगै एकता गरे।