टोखामा एक अर्ब ८९ करोड ९४ लाखको बजेट

टोखा नगरपालिकाले रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट नगरसभामा पेश गरेको छ। 

नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उक्त वजेट पेश गरेका हुन्। 

दोस्रो चरणको कोरोना सङ्क्रमण बढीरहेको बेलामा टोखाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरसभामा आव २०७८÷०७९ को बजेट पेश गरेको हो। 

टोखाले केन्द्र सरकारबाट प्रदान गर्ने निःशुल्क औषधिको अलावा नगरपालिकाबाट समेत औषधिहरु निःशुल्क उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ। 

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रुपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिन नगरवासीलाई उत्प्रेरित गर्ने भएको छ। 

यस्तै, टोखाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ र ‘महिला सँग उपमेयर’ स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाउने भएको छ। एक वडा एक योग ध्यान केन्द्र कार्यक्रमलाई समेत टोखाले अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।  स्वास्थ्यबाहेक वजेटले शिक्षा, उद्योग र पूर्वाधारलाई समेत जोड दिएको छ। 

टोखाले वडागत रुपमा रु दुई करोड ५० लाखको वजेट सिलिङ प्रस्ताव गरेको छ । काठमाडौँ उत्तरी क्षेत्रमा रहेको टोखामा हाल ११ वडा रहेका छन्।  

नगरसभामा नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाले अहोरात्र खटेर काम गरिरहेको उल्लेख गरे।

उनले समृद्ध टोखा नगरपालिका निर्माणका लागि आगामी नीति तथा कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। नगरपालिकाको न्यायीक समितिमा चालू आर्थिक वर्षमा ३४ उजुरी दर्ता भएका छन्। दर्ता भएका ३४ उजुरीमध्ये २१ उजुरीको फैसला भएको न्यायीक समितिका सदस्य गोपीकृष्ण पाठकले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-23 22:14:00

प्रतिकृया दिनुहोस्