सङ्घका अनुदानमा निर्भर छौँ : योजना मन्त्री आङ्बुहाङ

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश  १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ९लिम्बू०ले प्रदेशका बजेटमा ९० प्रतिशत सङघका अनुदानमा निर्भर रहेको जानकारी दिएका छन्।

आर्थिक वर्ष २०७८/७९ को राजस्व र व्ययको वार्षिक अनुमान माथि प्रदेशसभाका सदस्यले राखेको जिज्ञासाका जवाफमा  उनले प्रदेशले आफ्नो खुट्टामा उभिन सबै साधन र स्रोतको  अधिकार प्राप्त गर्न सकेमा मात्र सम्भव हुने बताए।

उनले सहज परिस्थिति निर्माण भएमा आगामी वर्षमा प्रदेशको आर्थिक वृद्धि छ प्रतिशत हुने अनुमान गरिएको हो भने।

प्रदेशसभाको आजको बैठकमा सो आवको बजेट माथिको सामान्य छलफल समाप्त भएको छ। बैठकमा मन्त्री आङ्बुहाङले सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमकै धरातलमा टेकेर बजेट ल्याएको  स्पष्ट पारे। उनले सरकारले कोरोना नियन्त्रण, उपचार,  शिक्षा, भौतिक पूर्वाधारका क्षेत्रमा बजेट केन्द्रीत गरेको  जानकारी दिए।

छलफलमा प्रदेशसभा सदस्य उमिता विक, ओमप्रकाश सरावगी,केदार कार्की, बलबहादुर साम्सुहाङ, मोहनकुमार खड्का, लोकप्रसाद सङ्ग्रौला र शिवनारायण गनगाँईले बजेट सरकारको नीति तथा कार्यक्रमसँग मेल नखाएको टिप्पणी गरे।

उनीहरुले बजेटले जनताको  आकाङ्क्षा पूरा नगर्ने जनाउँदै वित्तीय सङ्घीयतालाई आत्मसाथ नगरेको बताए। उनीहरुले बजेटले जनतालाई निराशा बनाएको, बजेटको आकार घट्दै गएको र अस्पतालका  क्षमता बिस्तार नभएकामा चिन्ता व्यक्त गरे।

बैठकको शून्य समयमा  सदस्य ज्योती सुब्बाले सुनसरीको इनरुवामा निर्माणाधीन सामुदायिक भवनको काम छिटो सम्पत्र थप बजेटको व्यवस्थागर्न माग गरे। प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-06-22 19:15:00

प्रतिकृया दिनुहोस्