नदी किनारका सुकुम्बासीको चिन्ता : कुन दिन खोलाले बगाएर मरिने हो थाहा छैन

थाहा खबर

काठमाडौँ

श्याम राई

कोटेश्वरस्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्तीकी कृष्णकुमारी गिरी यस वर्षको मनसुन सुरु भएसँगै बाढी-पहिरोबारे चासो राखिरहेकी छिन्। विभिन्न ठाउँमा बाढी-पहिरोले घर बगाएको र केही व्यक्ति बेपत्ता भएको जानकारी छ उनलाई।

बिहीबार बिहान बस्तीमा पुगेर बाढीको कुरा निकाल्दा साथ उनले भनिन्, ‘बाबु, सिन्धुपाल्चोकमा अरु थप कतिजना बेपत्ता भए? कति घर बगायो? आज त केही जानकारी नै छैन।’

बाहिर जिल्लामा गएको बाढी-पहिरो घटनाले उनलाई दुःखित त तुल्याएको छ नै आफू पनि यस वर्षको वर्षाभरि कसरी बच्ने भन्ने उनलाई चिन्ता छ। किनकि‚ उनी बस्दै आएको मनोहरा खोलाका आसपास क्षेत्र पनि हरेक वर्ष डुबानमा पर्दै आएको छ।

यस वर्षको मनसुन सुरु भैसकेको छ। यस वर्षको मनसुनमा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसैले पनि नदी किनारमा बस्दै आएकी गिरीलाई पानी परेको बेला राति निदाउन समेत सक्दिनन्।

उनले भनिन्‚ ‘यो ठाउँ हरेक वर्ष डुबानमा पर्छ तर अन्त जाने ठाउँ छैन। हिजोदेखि खोलाको बहाव बढ्दै छ। कुन दिन खोलाले बगाएर मरिने हो थाहा छैन।’

सरकारले जोखिम भएका सुकुम्बासी बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने योजना ल्याएको थियो। तर, अहिलेसम्म स्थानान्तरण गरेको छैन। गिरीले भनिन्‚ ‘सरकारले खै कहाँ पो लगेर राख्ने रे भन्ने खबर सुनेको तीन वर्षभन्दा बढी भैसक्यो। अहिले सम्म सारेको छैन।’

प्रकाशित मिति: : 2021-06-18 11:30:00

प्रतिकृया दिनुहोस्