ब्राजिलमा कोभिडबाट एकैदिन तीन हजार जनाको मृत्यु

ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ।

यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो। 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो। 

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ। 

ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको पाइएको छ । योसँगै यहाँ पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ।

त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। त्यसैगरी धेरैपछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएका पनि बताइएको छ। 

कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन्। यहाँ केही समयअघि सम्म अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका थिए। 

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ। 

त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ।

त्यसैगरी यहाँ भारतपछि सबैभन्दा धेरै नागरिक संक्रमित भएका छन्। केही हप्ता यता यहाँ मृत्यु हुने र संक्रमित हुनेको संख्या घटेको जस्तो देखिए पनि पछिल्ला दिनहरुमा बढेको पाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-17 16:30:00

प्रतिकृया दिनुहोस्