प्रदेश १ मा वाइसिएलले दियो पूर्व जनसेना, घाइते र सहिद परिवारलाई खाद्यान्न

नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश नेतृत्वले झापा मोरङ र इलामको चुलाचुली १ कमलमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न (चामल र चिउरा) राहत प्रदान गरेको छ।

संगठनका प्रदेश कमिटी संयोजक कर्म पूलामीको नेतृत्वमा पार्टी तथा संगठनका नेता कार्यकर्ता तथा शुभेच्छुक व्यवसायीहरुबाट संकलन गरिएको कूल १५० बोरा चामल र ६ बोरा चिउरा आज (बुधबार) वितरण गरिएको हो।

संगठनले झापाको कमल (साविक तोपगाछी) मा बसोबास गर्दै आएका पूर्व जनमुक्ति सेना नेपालका घाइते, अपाङ तथा सहिद परिवारका लागि पूर्व जनमुक्ती सेना नेपालको संगठन मार्फत ४० बोरा चामल वितरण गरेको थियो।

सो खाद्यान्न राहत कमल ३ गुरुङ टोलमा पूर्व जनमुक्ति सेना नेपालको संगठनका सचिव सागर शेर्पालाई हस्तान्तरण गर्दै वाइसिएलका प्रदेश संयोजक पुलामीले कोरोना महामारी र जारी निषेधाज्ञाका कारण समस्यामा परेका सहयोद्धाको परिवारलाई थोरै भएपनि राहत पुगोस् भन्ने उदेश्यले पार्टी र संगठनको केन्द्रिय नीति अनुसार सो राहत प्रदान गरिएको जानकारी गराए।

सो अवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा चौंलागाइँ (श्रीकान्त) ले पूर्व जनमुक्ति सेनाको परिवारको अवस्थाका बारेमा पार्टीले समेत उपल्लो तह सम्म छलफल गर्दै आएको बताए। उनले पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई आय आर्जनमा जोडने पार्टीको नीति रहेको भन्दै आश्वसन दिएका थिए।

सो टोलीले आज (बुधबार) नै माओवादी जनयुद्धका घाइते पूर्व जनमुक्ति सेना सिक्सम लिम्बुको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै खाद्यान्न राहत प्रदान गरेको थियो।

४७ बर्षीय लिम्बु तत्कालिन राजा ज्ञानेन्द्र साहले गराएको निर्वाचनको अघिल्लो दिन धनकुटामा सुरक्षाकर्मीसंगको भिडन्तमा घाइते भएका थिए। उनको शरीर चल्न नसक्ने अवस्थामा छन्। उनी पछिल्लो समय मलद्धारको छेउमा भएको घाउबाट पिप बगिरहने समस्यामा छन्।

वाइसिएलले आजनै उर्लाबारी र मधुमल्लामा समेत पुगेर पूर्व जनसेना तथा तिनको परिवारलाई खाद्यान्न राहत वितरण गरेको जनाइएको छ। राहत वितरणमा संगठनका केन्द्रिय निर्वाचन आयोग सदस्य दिपक आले, मोरङ जिल्ला उपाध्यक्ष राजिव लिम्बु र उर्लाबारी नगर सहसचिव अनिल साह समेत सहभागी थिए।

संगठन मार्फत प्रदान गरिएको सो चामल वाइसिएल उर्लाबारीका अनिल साह र सविन घिमिरे मार्फत ३३ बोरा, मोरङ जिल्ला उपाध्यक्षद्धय सुसन लिम्बु र कमल हाङगाम, मधुमल्लाका व्यवसायी सुसन खडका, शिवसताक्षी २ का प्रकाश बस्नेत, भुपेन्द्र साह, दिलिप बुढाथोकी , राजु दर्नाल र विर्तामोड नगर अध्यक्ष माधव झामार्फत प्राप्त भएको जनाइएको छ।

दमकका सुकुम्बासीलाई वाइसिएलको सहयोग
यसैबीच दमक ७ मा स्थानीय सरकारद्धारा घर टहरा भत्काइएपछि समस्यामा परेका ७ परिवारलाई वाइसिएलले चामल प्रदान गरेको छ।

संगठनको १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा चौंलागाइँ (श्रीकान्त)को उपस्थितीमा प्रति परिवार एकरएक बोरा चामल राहत स्वरुप प्रदान गरेको हो।

वाइसिएलका प्रदेश संयोजक कर्म पूलामीले सो सहायता सामग्री पीडित परिवारलाई घर भत्काइएको स्थलमै पुगेर हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: : 2021-06-16 22:30:00

प्रतिकृया दिनुहोस्