रोल्पाका पुराना कम्युनिष्ट नेताको कोरोनाबाट निधन, विप्लव र महराद्वारा श्रद्धाञ्जली

Breaknlinks
Breaknlinks

रोल्पाका  पुराना कम्युनिष्ट नेताको निधन भएको छ।

रोल्पा थबाङका पुराना कम्युनिष्ट नेता पूर्णबहादुर रोकाको  कोरोनाका  कारण ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

कोरोनाबाट संक्रमित रोका थबाङमा रहेको आइसोलेसनमा उपचाररत रहेको बेला निधन भएको स्थानीय गोविन विकले जानकारी दिए। 'लामो समयदेखि दम र मुटुको बिरामी रहेका उनलाई अथक प्रयास गर्दा पनि बचाउन सकिएन', विकले भने।

२०३२ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका रोका विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका पूर्व केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय सल्लाहकार समेत थिए। 'गोरे दाई' उपनामले परिचित रोका एक ईमान्दार र निष्ठावान नेता मानिन्छन्। थबाङमा रोकालाई वरमन  वुढामगर,  सन्तोष वुढामगरको समकक्षी नेताको रुपमा मानिन्छ।

रोकाको बहिनी ललि रोकालाई २०५३  सालमा तत्कालिन राज्य पक्षले बलात्कार पछि हत्या गरेको थियो। नेता रोकाप्रति नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय सल्लाहकार र क्रान्तिकारी आन्दोलनका एक अभिभावक गुमाएको बताएका छन्।

नेता रोका क्रान्तिको किल्ला थबाङको मात्र नभई नेपाली कम्युनिष्ट आन्दोलनकै एक खम्बा रहेकाे बताउदै पूर्व सभामुख कृष्णवहादुर महराले पनि नेता रोकाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेपाली राजनीति परिवर्तनको किल्ला मानिने रोल्पा थबाङका किसान आन्दोलनका अगुवा नेता रोकाको निधनले आफूलाई स्तब्ध बनाएको महराद्धारा जारी श्रद्धाञ्जलीमा उल्लेख गरिएको छ।

श्रद्धाञ्जली व्यक्त गर्दै महराले भनेका छन्, 'मेरो  राजनैतिक सहकर्मी तथा जनताका आशा र भरोसाका केन्द्र मानिने रोकाको निधनले थबाङ तथा आम रोल्पाली  जनतालाई  समेत अतुलनीय क्षति  पुगेको छ।'

समाज परिवर्तनको महायात्रामा सँगै होमिदा उनीमा भएको क्रान्तिकारी चेतना तथा जनताप्रति उत्तरदायी भावनाको समेत महराले स्मरण गरेका छन्।

प्रकाशित मिति: : 2021-06-16 12:15:00

प्रतिकृया दिनुहोस्