एमालेमा युद्धविरामपछि विपक्षी गठबन्धनमाथि दबाब, प्रधानमन्त्री उम्मेद्वार देउवाको साटो माधव नेपाल बनाउन गृहकार्य

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको समूह एमालेमै एकताबद्ध भएर अघि बढ्न लचिलो देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको विपक्षी गठबन्धनमा दबाब सिर्जना भएको छ।

प्रतिनिधिसभा पुनस्र्थापना गराउन प्रयासरत उक्त गठबन्धनले एमालेभित्र विकसित राजनीतिक समीकरणपछि प्रधानमन्त्रीको उम्मेद्वार फेरेर माधव नेपाललाई अघि सार्ने विकल्पमा समेत गृहकार्य गर्न थालेको उच्च राजनीतिक स्रोतले जानकारी दिएको छ।  

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘०७५ जेठ ३ अघिको अवस्थामा फर्कन तयार’ रहेको बताउँदै सहमतिका लागि गरेको आह्वानले दबाबमा परेको नेपाल समूहलाई सर्वोच्च अदालतको पछिल्लो फैसलापछि मिलेर अघि बढ्न झन् बढी दबाब परेको छ। नेपाल स्वयम् भने ओलीभन्दा देउवा र प्रचण्डको प्रिय छन् तर उनीनिकट नेताहरुले एमालेमा एकताबद्ध भएर अघि बढ्न भूमिका थालिसकेका छन्। 

एमालेभित्र देखिएको चलकताका कारण सर्वोच्च अदालतले कथम्कदाचित प्रतिनिधिसभा पुनस्र्थापित गरेमा फेरि पनि प्रधानमन्त्री ओली नै सबैभन्दा शक्तिशाली भइरहने हुनाले नेपाललाई अघि सार्ने र उनीसँग २३ जना सांसद्को साथ कायमै राख्ने रणनीति अपनाउन थालिएको हो। 

उच्च राजनीतिक सोतका अनुसार, पूर्वप्रधानमन्त्री नेपालको निवास, कोटेश्वरमा सोमबार साँझ भएको नेपाल, देउवा र प्रचण्डबीचको छलफलमा पनि यसबारे छलफल भएको छ। नेपाल पक्षधर नेताहरुले खुमलटार र बुढानीलकण्ठ धाइरहेको भनी उनको आलोचना गर्न थालेको गुनासो गरेपछि देउवा र प्रचण्ड नेपालनिवास पुगेका थिए। 

एमालेभित्र एकताको प्रयासको अभ्यास प्रदेशहरुमा देखिइसकेको छ। नेपाल पक्षधर नेतृ अष्टलक्ष्मी शाक्यले नै वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग छलफल गरी नीति–कार्यक्रम पास गराउन सघाएपछि देउवा र प्रचण्ड बढी सशङ्कित भएका हुन्। त्यसबाहेक प्रदेश १ का नेपाल पक्षका नेता भीम आचार्य पनि एमाले एकताको पक्षमा देखिएका छन्।

ओलीले ०७५ जेठ २ गतेको अवस्थामा फर्किएर नेपाल पक्षसहितको एमाले स्थायी कमिटी बैठक डाक्ने र त्यसैलाई एकताको प्रस्थानबिन्दु मानेर अघि बढ्न पूर्वप्रधानमन्त्री नेपाल र भीम रावलबाहेक अधिकांश नेपाल पक्षका नेताहरु लचिलो देखिएका छन्। नेपाल र रावल भने सबै एमालेमा फर्किए पनि नफर्कने अडान राखेर बसिरहेको एमालेका एक नेताले जानकारी दिए। 

प्रधानमन्त्री ओली भने नेपाल र रावललाई समेत ल्याउन ‘फेस सेभिङ’ दिने उपायको खोजीमा रहेको एमाले स्रोतले जनाएको छ। एमालेभित्र एकताको संकेत देखेपछि ‘फ्लोर क्रस’ जस्तो राजनीतिक अपराध गरेका कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वालासमेत संसदीय दलको बैठकमा सहभागी भएका छन्।

नेपाल पक्षसहित वामदेव गौतमलाई समेत एकताबद्ध बनाएर अघि बढ्न उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुख सुवास नेम्वाङले पहल थालेका छन्। उनीहरुले नेता नेपाल र उनी पक्षधर दोस्रो तहका नेताहरुसँग पटक छलफल गरिसकेका छन्। अर्थमन्त्री पौडेलले सोमबार मात्र पनि भैँसेपाटीस्थित गौतमको निवासमा करिब तीन घण्टा लामो छलफल गरेका थिए। 

नेपाल पक्षका २३ जना प्रतिनिधिसभा सदस्यसमेतको समर्थनमा अदालतमा मुद्दा हालेका देउवा एमाले एकताबद्ध भएमा आफू विफल हुने देखेपछि नेपाललाई प्रधानमन्त्री बनाएर भए पनि ओलीलाई ढालिछाड्ने प्रचण्डको ‘मिशन’ मा सहमत हुने संभावना बढी रहेको स्रोतको दाबी छ। शनिवार मात्र प्रधानमन्त्री ओलीविरुद्ध पाँच पूर्वप्रधानमन्त्रीहरुले संयुक्त विज्ञप्ति जारी गरेका थिए जसमा नेपाल समूहकै नेताहरुले खनाल र नेपाललाई त्यसो गर्नु गलत भएको बताएका थिए। 

प्रधानमन्त्री ओली नेपाल पक्षका नेताहरु र वामदेव गौतमसँग समेत सहमति गरी चाँडै नै एमालेको ०७५ जेठ २ अघिको स्थायी कमिटी बैठक डाक्ने तयारीमा छन्। असार २ मै डाक्ने कि भन्ने कुरा भए पनि थप गृहकार्य गरेर मात्र बैठक डाक्ने भन्दै केही दिन पछि धकेलेका हुन्। नेपाल पक्षका अधिकांश नेताहरु भने पार्टी एकताको विकल्प नरहेको निष्कर्षमा पुगे पनि नेता नेपाल भने अझै कांग्रेसप्रति नै लचिलो देखिएका छन्।
 

प्रकाशित मिति: : 2021-06-15 17:35:00

प्रतिकृया दिनुहोस्