एसईईको नतिजा साउन १५ भित्र

गोरखापत्र

शेषकान्त पण्डित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिनुभयो । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।

विद्यालयको समयसीमा असार २०
बोर्डले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा दिएको छ । विद्यालयले २० गतेभित्र जिल्ला समन्वय एकाइमा विद्यार्थीको अन्तिम सबै अभिलेख बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । त्यसपछि असार मसान्तभित्र समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएपछि १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन गरे पनि विद्यार्थीको नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने छ ।

प्रकाशित मिति: : 2021-06-14 07:02:00

प्रतिकृया दिनुहोस्